ट्रम्पले क्यानडालाई लगाए ३५ प्रतिशत ट्यारिफ
१६ साउन काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाबाट अमेरिका जाने वस्तुहरूको भन्सार दर २५ प्रतिशतबाट बढाएर ३५ प्रतिशत पुर्याएका छन् । यो करको दर मध्यरातदेखि लागु हुने बीबीसीले जनाएको छ ।ह्वाइट हाउसले क्यानडालाई नयाँ उच्च ट्यारिफ लगाउनुपर्ने कारणमा अवैध लागुपदार्थ फेन्टानिल र अन्य तस्करी समाधानमा निष्क्रियताको परिणाम भएको बताएको छ ।
क्यानडाका प्रधानमन्त्री मार्क कर्नीले गत जुलाईमा उत्तर अमेरिकामा फेन्टानिलको प्रकोप रोक्न महत्वपूर्ण प्रगति भएको बताएका थिए ।क्यानडासँगै, ह्वाइट हाउसले दर्जनौँ अन्य देशहरूका लागि नयाँ टेयारिफ दरहरू जारी गरेको छ । व्यापार सम्झौताका लागि दिइएको समयसीमा सकिनुअघि, ह्वाइट हाउसले दर्जनौँ अन्य देशहरूका लागि पनि नयाँ भन्सार दरहरू घोषणा गरेको हो ।
ट्रम्पले मेक्सिकोमाथि उच्च भन्सार दर लगाउने निर्णयलाई थप ९० दिनका लागि स्थगित गरेका छन् ।
ट्रम्पले गत अप्रिलमा आफ्नो भन्सार योजना घोषणा गरेका थिए, जसले विश्व अर्थतन्त्रमा ठूलो हलचल ल्याएको थियो । तर, उनले देशहरूलाई नयाँ व्यापार सम्झौताको लागि वार्ता गर्ने अवसर दिन यो योजनालाई केही समय रोकेका थिए ।
ट्रम्पको नयाँ भन्सार दरले विशेषगरी एसियाली देशहरूलाई ठूलो प्रभाव पारेको छ ।अगस्ट १ को समयसीमाभित्र सम्झौता गर्न नसकेका सरकारहरूले अब उच्च अमेरिकी आयात करको सामना गर्नुपर्नेछ ।एशिया क्षेत्रका दुई प्रमुख व्यापारिक साझेदारहरू भारत र ताइवानलाई क्रमशः २५ प्रतिशत र २० प्रतिशतको ट्यारिफ दर लागु गरिएको छ । लाओसले यो चरणको ट्यारिफमा दोस्रो उच्च दरको सामना गर्नुपरेको छ । ४० प्रतिशतको दरले यो सिरियाको ४१ प्रतिशतभन्दा केवल एक प्रतिशतले कम छ ।
तर, यी देशहरूले अमेरिकी आयातमा निकै सानो हिस्सा ओगट्छन् । अमेरिकी सरकारको तथ्यांकअनुसार, सिरियाबाट अमेरिका आयात हुने वस्तुको कुल मूल्य सन् २०२४ मा १०.७ मिलियन डलर मात्र थियो ।
अमेरिकी व्यापार प्राधिकरणका अनुसार सन् २०२२ मा अमेरिकाले ३.२ ट्रिलियन डलरको आयात गरेको थियो ।स्विट्जरल्यान्डलाई ३९ प्रतिशत को नयाँ ट्यारिफ दर तोकिएको छ । गत वर्ष स्विट्जरल्यान्डले अमेरिकामा ६३.४ बिलियन डलरको निर्यात गरेको थियो ।