सुक्खा ठाउँमै धान रोपाइँ


Capital Headline
प्रकाशित मिति : आइतबार, साउन १८ २०८२
1.4K
SHARES

१८ साउन गुल्मी । गुल्मी जिल्लाको इस्मा गाउँपालिका–२ स्थित छल्दी फाँटका कृषकहरूलेसुक्खा खेतमै धान रोपेका छन् ।पर्याप्त वर्षा नभएपछि कृषकहरुले मध्ये साउनमा कोदो रोपेझै हिलोबिनै धान रोपेका हुन् । सामान्यतया पानी पर्याप्त भएपछि धानलाई हिलोमा रोप्ने गरिन्छ । तर, यस वर्ष वर्षा हुन सकेन । बीउ सुक्न लाग्दा पनि वर्षा नभएपछि किसानले सुक्खामै रोपाइँ गरे ।

छल्दी फाँटका कृषक जंगबहादुर खत्रीले यसपालि पानी नपरेकोले बाध्य भएर धानलाई कोदो रोपेझैं रोप्नु परेको गुनासो गरे ।बीउ सुक्न थालेपछि जसरी हुन्छ रोप्नु पर्छ भनेर कोदो रोपेझैं रोपेको अर्का कृषक प्रकाश थापाले बताए । यसरी रोपेको धान उत्पादनमा शतप्रतिशत गिरावट आउने प्रति कृषकहरु चिन्ति छन् ।

जमूना खत्री, नरबहादुर थापालगायतले सुक्खा ठाउँमै धानलाई रोपेका हुन् । छल्दी फाँटमा झडै ६० जनाको करिब ५०० भन्दा वढी रोपनी क्षेत्रफल रहेको छ ।यस वर्ष बीउ सुक्न थालेपछि श्यामलाल श्रेष्ठ, टीका रेश्मी, पूर्णप्रसाद श्रेष्ठ, राजन कुँवर, यादव पाण्डे भविश्वर खत्री, लक्ष्मी थापालगायतले भने खोलाको पानी तानेर धान रोपाइँ गरेका छन् ।

भाडामा जेनेटर ल्याएर उनीहरुले छल्दी खोलाको पानी तानेर धान रोपाइँ गरेका हुन् । पानी तानेर धान रोपाइँ गरेपनि वर्षा नहुँदा उत्पादन घट्ने चिन्ता उनीहरुको छ ।त्यस स्थानमा दुई मिटर गहिराइमा रहेको छल्दी खोलाको पानी खेत नजिकै बग्ने गर्दछ । तर, कुलो व्यवस्थापन नहुदा यहाँका कृषकहरु आकाशे पानीको भरमा रोपाइँ गर्दै आएका छन् ।

केहीले अझै पनि धान रोपाइँ गर्न सकेका छैनन् । भनेको समयमा जेनेटर र ट्याक्टर समेत नजुने भएकाले छल्दी फाँटमा धान रोप्न बाँकी छ स्थानी इन्द्रबहादुर थापा, गंगा थापा, नटबहादुर खत्री, हिरा श्रेष्ठ, गोरबहादुर नेपाली, विष्णु कुँवर, ढालबहादुर खत्री, छन्दबहादुर कुँवर, प्रकाश थापा लगायतका कृषकहरुले अझै पनि धान रोपाइँ गर्न नसकेका हुन् । भनेको समयमा जेनेटर भाडामा पनि नपाउनु र महङ्गो रोपाइँ हुने भएकाले पनि उनिहरु धान रोपाइँ कसरी गर्ने भन्ने चिन्तामा छन् ।