हतियार नबिसाउने हमासको घोषणा
१८ साउन काठमाडौं । हमासले प्यालेस्टाइन सार्वभौम देश नबनेसम्म हतियार नबिसाउने बताएको छ । गाजामा युद्धविरामका लागि भएको वार्तामा इजरायलका प्रमुख मागको जवाफमा हमासले आफ्नो सर्त अघि सारेको हो ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्व दूत स्टिभ विटकफको टिप्पणीको जवाफमा हमासको प्रतिक्रिया आएको हो । विटकफले हमासले हतियार बिसाउन इच्छा देखाएको बताएका थिए ।
इजरायलले युद्ध समाप्त गर्न र कुनै पनि सम्झौताका लागि हमासले पहिले हतियार बिसाउनुपर्ने सर्त राखेको छ ।युद्धविराम र बन्धकको रिहाइका लागि इजरायल र हमासबीच अप्रत्यक्षरूपमा चलिरहेको वार्ता गत हप्ता रोकिएको छ । केही दिनअघि अरब देशहरूले हमासलाई हतियार बिसाउन र गाजाको नियन्त्रण छोड्न आग्रह गरेका थिए ।
यसअघि फ्रान्स, क्यानडालगायत केही पश्चिमा देशले प्यालेस्टाइनलाई एक देशको रूपमा मान्यता दिने योजनाको घोषणा गरेका थिए ।बेलायतले पनि आगामी सेप्टेम्बरसम्म इजरायलले केही सर्त पूरा नगरे प्यालेस्टाइनलाई स्वतन्त्र देशको मान्यता दिने बताएको छ ।