लुम्बिनी प्रदेशमा ९६ प्रतिशत धान रोपाईं
२० साउन बुटवल । लुम्बिनी प्रदेशमा यस वर्ष हालसम्म ९६ प्रतिशत धान रोपाईं सम्पन्न भएको छ । प्रदेशका १२ वटै जिल्लामा कुल तीन लाख दुई हजार ९३९ हेक्टर जमिन धान रोपाईंका लागि उपयुक्त छ । साउन १६ गतेसम्म दुई लाख ९० हजार ७०७ हेक्टरमा रोपाईं सम्पन्न भइसकेको छ, जुन ९६ प्रतिशत हो ।प्रदेशका अधिकांश जिल्लामा ९० प्रतिशतभन्दा बढी रोपाईं सम्पन्न भइसकेको छ भने केही जिल्लाहरू विशेषगरी रोल्पा र बर्दियाले १०० प्रतिशत लक्ष्य पूरा गरेको कृषि विकास निर्देशनालय लुम्बिनी बुटवलका निमित्त प्रमुख रामप्रसाद पाण्डेले जानकारी दिए ।
कृषि विकास निर्देशनालय लुम्बिनी बुटवलले दिएको जानकारी अनुसार बर्दिया र रोल्पामा शतप्रतिशत रोपाईं भएको छ । बर्दिया ५० हजार १५० हेक्टर र रोल्पा जिल्लामा चार हजार ५४७ हेक्टर रोपाईं क्षेत्रमै पूरै रोपाईं सम्पन्न भएको महानिर्देशक पाण्डेले जानकारी दिए । गुल्मीमा भने कुल सात हजार ५३९ हेक्टर धान रोपाईं क्षेत्रफलमध्ये ६ हजार ५४४ हेक्टरमा रोपाईं भएको छ, यो ८७ प्रतिशत हो ।
रुपन्देहीमा ६२ हजार ६२२ हेक्टर खेतीयोग्य जमिन रहेकोमा ६० हजार ५६७ हेक्टरमा धान रोपिन्छ । ५९ हजार ३५६ हेक्टरमा हालसम्म रोपिएको छ, जसले ९८ प्रतिशत रोपाईं सम्पन्न भएको देखाउँछ ।नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा कुल ४० हजार ६३९ हेक्टर खेतीयोग्य जमिनमध्ये २० हजार ४६० हेक्टरमा धान खेती हुने क्षेत्र रहेको छ । यसमा २० हजार ७० हेक्टरमा रोपाईं सम्पन्न भइसकेको छ । यो ९८ प्रतिशत हो ।