२८ हजार ८२४ मेट्रिक टन मल मौज्दात – प्रधानमन्त्री ओली
२६ साउन काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यो वर्ष खेतीपातीको समयमा रासायनिक मलको अभाव नहोस् भन्ने उद्देश्यले सरकारले विशेष ध्यान दिएको बताएका छन् ।सोमबार (साउन २६) उनले सामाजिक सञ्जाल फेसबुकमार्फत देशमा तत्कालका निम्ति २८ हजार ८२४ मेट्रिक टन मल मौज्दात रहेको जानकारी दिएका छन् । थप एक लाख ४० हजार ५०४ मेट्रिक टन मल आयातक्रममा रहेको उनले उल्लेख गरेका छन् ।
यतिखेर कृषि सामग्री कम्पनीमा २९ हजार १११ मेट्रिक टन मल मौज्दात छ । युरिया मल १६ हजार ५३९ मेट्रिक टन, डीएपी सात हजार ६५३ मेट्रिक टन र पोटास चार हजार ९१५ मेट्रिक टन मौज्दात रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।साल्ट ट्रेडिङ कम्पनीमा १३ हजार ७१२ मेट्रिक टन मल मौज्दात रहेको प्रधानमन्त्री ओलीले जानकारी गराएका छन् ।साल्ट ट्रेडिङ कम्पनीमा युरिया १० हजार ९८४ मेट्रिक टन, डीएपी ९४२ मेट्रिक टन र पोटास एक हजार ७८५ मेट्रिक टन रहेको तथ्यांक छ ।
प्रधानमन्त्री ओलीले कतै मलको अभाव भएमा सम्बन्धित निकायलाई जानकारी गराउन समेत आग्रह गरेका छन् । ‘खेतबारी हराभरा बनाऔँ’ भन्दै उनले कृषकलाई खेतीपातीमा आवश्यक मल समयमै प्रयोग गर्न आग्रह गरेका छन् ।