ट्रम्पले पुटिनसँगको वार्तामा युक्रेनी भूभाग फिर्ताको प्रयास गर्ने


Capital Headline
प्रकाशित मिति : मंगलबार, साउन २७ २०८२
1.3K
SHARES

२७ साउन काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटमा युक्रेनका केही भूभाग फिर्ताको प्रयास गर्ने बताएका छन् ।“रुसले युक्रेनको ठूलो हिस्सा कब्जा गरेको छ । उनीहरूले महत्त्वपूर्ण भूभाग कब्जा गरेका छन् । हामी युक्रेनका निम्ति त्यसको केही भूभाग फिर्ता लिने प्रयास गर्नेछौँ,” उनले ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा भने ।

उनी र रुसी राष्ट्रपति शुक्रबार अलास्कामा वार्ता गर्न तयार छन् । ट्रम्पले पुटिनसँगको भेटको दुई मिनेटभित्रै प्रगति सम्भव छ वा छैन भन्ने थाहा हुने पनि बताए ।उनले शुक्रबारको भेटलाई परीक्षात्मक रूपमा वर्णन गरे । त्यसको उद्देश्य पुटिनलाई युद्ध अन्त्यको आग्रह गर्नु हो । उक्त शिखर सम्मेलनलाई उनले प्रारम्भिक भेटका रूपमा हेर्न सकिने बताए ।

ट्रम्पले फेरि एकपटक रुस र युक्रेनबीच भूभागको सट्टापट्टा र परिवर्तन हुने चेतावनी दिए । उनले दोस्रोपटक भूभाग सट्टापट्टा भन्ने शब्द प्रयोग गरेका हुन् । यद्यपि, रुसले युक्रेनलाई कुन भूभाग छोड्न सक्छ भन्ने स्पष्ट छैन । युक्रेनले रुसी भूभागमा कहिल्यै दाबी गरेको छैन ।ट्रम्पले यदि पुटिनले निष्पक्ष सम्झौता प्रस्ताव गरेमा युरोपेली नेताहरूलाई जानकारी दिने र सम्मानका रूपमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई पहिला सम्पर्क गर्ने बताए ।

“म उनलाई पहिला फोन गर्नेछु । भेटपछि म उनलाई फोन गर्नेछु र भन्न सक्छु– लडाइँ जारी राख, शुभकामना वा हामी सम्झौता गर्न सक्छौँ,” उनले भने ।ट्रम्पले आफू र जेलेन्स्कीबीच राम्रो सम्बन्ध रहेको बताए । तर, जेलेन्स्कीले गरेका कामसँग कडा असहमति रहेको उनको भनाइ थियो ।ट्रम्पले यसअघि सन् २०२२ को फेब्रुअरीमा सुरु रुस–युक्रेन युद्धका निम्ति जेलेन्स्कीलाई दोषी ठहर्‍याएका थिए ।