यी ४१ जिल्लाका नदी/खोलामा आज बाढीको जोखिम
२९ साउन काठमाडौं । मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले आज देशका विभिन्न जिल्लाका नदी तथा खोलामा बाढीको जोखिम रहेको छ । डोटी, डडेलधुरा, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भएर बहने केही नदी तथा खोलामा बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको जोखिम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
इलाम, झापा, पाँचथर, मोरङ, तेह्रथुम, धनकुटा, ताप्लेजुङ, संखुवासभा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, उदयपुर, गोरखा, लमजुङ, कास्की, पर्वत, गुल्मी, पाल्पा, रुपन्देही र आसपासका नदी तथा खोलामा पनि बाढीको जोखिमको पूर्वानुमान छ ।
कपिलवस्तु, वाग्लुङ, अर्घाखाँची, प्यूठान, दाङ, बाँके, वर्दिया, रोल्पा, सल्यान, रुकुम पश्चिम, जाजरकोट, दैलेख, कालिकोट, बाजुरा, बझाङ, दार्चुला, बैतडी र आसपासका जिल्ला भएर बहने केही नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको जोखिम रहेकाले नदी तटीय क्षेत्रमा रहनेहरूले सतर्क रहनुपर्ने विभागको भनाइ छ ।
आज बिहानको मापनअनुसार कोसी, नारायणी, वाग्मती, कर्णाली, महाकाली र यीनका सहायक नदीहरू तथा कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको बहाव सतर्कता तहभन्दा तल रहेको विभागले बताएको छ ।
विभागका अनुसार आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा साधारणतया बदली रहनेछ । बाँकी भूभागमा आंशिक बदली रहनेछ ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराईलगायत देशको पहाडी भूभागका केही स्थानमा र मधेस प्रदेशलगायत देशका बाँकी तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ ।
गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।विभागले राति देशको पहाडी भूभागमा साधारणतया बदली र बाँकी भूभागमा आंशिक बदली रहने बताएको छ ।
गण्डकी प्रदेशको पहाडी तथा तराईलगायत वाग्मती, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भूभागका केही स्थानमा र मधेस प्रदेशलगायत बाँकी पहाडी र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ ।
मनसुनको न्यूनचापीय रेखा पश्चिममा नेपालको तराई आसपास र पूर्वमा तराईभन्दा केही दक्षिणतिर रहेको छ । यसले मनसुन नेपालको पूर्वी भूभागभन्दा पश्चिम नेपालतर्फ बढी सक्रिय रहने पूर्वानुमान रहेको विभागले बताएको छ ।