अमेरिकी रक्षामन्त्रीले गरे बर्खास्त
८ भदौं काठमाडौं । अमेरिकी रक्षामन्त्री पिट हेग्सेथले एक जनरल एवं अमेरिकी रक्षा गुप्तचर एजेन्सी (डिफेन्स इन्टेलिजेन्स एजेन्सी)का प्रमुख जेफ्री क्रुजलाई बर्खास्त गरेका छन् । उक्त एजेन्सीले अमेरिकी हमलाबाट इरानी आणविकस्थलमा भएको क्षतिको जुनमा गरेको प्रारम्भिक गुप्तचर मूल्यांकनबाट राष्ट्रपति डोनाल्ड ट्रम्पलाई रिस उठेको थियो । उक्त गुप्तचर मूल्यांकन चुवाहट भएर मिडियामा पुगेको थियो ।
उक्त प्रतिवेदनमा इरानमाथिको हमलाबाट उसको आणविक कार्यक्रम सम्पूर्ण रूपमा नष्ट नभएको उल्लेख थियो । ती आक्रमणबाट इरानको आणविक कार्यक्रम केवल केही महिना पछाडि धकेलिएको जनाइएको थियो ।
ट्रम्पले डीआईएको चुहावट भएको प्रतिवेदनमा कडा प्रतिक्रिया व्यक्त गरेका थिए । उनलाई बर्खास्त गर्ने निर्णयबारे जानकार दुई व्यक्ति र ह्वाइट हाउसका एक अधिकारीले बताएका सीएनएनले जनाएको छ ।यी व्यक्तिहरूले आफ्नो नाम नबताउने सर्तमा दिएको जानकारीअनुसार, लेफ्टिनेन्ट जनरल क्रुज अब अमेरिकी रक्षा गुप्तचर एजेन्सी (डिफेन्स इन्टेलिजेन्स एजेन्सी)का प्रमुखका रूपमा रहने छैनन् ।
रक्षामन्त्री हेग्सेथले नौसेना रिजर्भकी प्रमुख भाइस एडमिरल न्यान्सी लाकोरे र नौसेना सिल अधिकृत रियर एडमिरल मिल्टन स्यान्ड्सलाई पनि बर्खास्त गरेका अर्का अमेरिकी अधिकारीले बताए । उनीहरू नेभल स्पेसल वारफेयर कमान्डको नेतृत्वमा थिए । यो पछिल्लो बर्खास्तको कारण स्पष्ट नभएको सीएनएनले जनाएको छ ।