उखुको बक्यौता माग गर्दै माइतीघरमा धर्ना बसे उखु किसान
८ भदौं काठमाडौं । तराई मधेशका उखु किसानहरू उखुको बक्यौता माग गर्दै काठमाडौंमा धर्ना बसेका छन् । तराईका १३ जिल्लाबाट आएका उखु किसानहरू आज माइतीघर मण्डलामा धर्ना बसेका हुन् । आव ०८१/०८२ को उखुको वक्यौता अनुदान रकम प्रतिक्वीन्टल ७० रुपैयाँका दरले भुक्तानी गर्नुपर्ने उनीहरूको माग रहेको छ । उखु उत्पादक महासंघको अगुवाइमा उखु किसानहरू धर्ना बसेका हुन् । उनीहरू उखुको बोट नै बोकेर सडकमा आएका छन् ।
आफ्ना मागहरू पूरा नभए आजैदेखि निरन्तर आन्दोलन गर्ने उनीहरूले चेतावनी दिएका छन् । काठमाडौं आउनुभन्दा अगाडि उनीहरूले जिल्ला रहेका चिनी उद्योगअगाडि विरोधका कार्यक्रम गरेका थिए ।सरकारले बजेट अभाव देखाउँदै किसानलाई दिँदै आएको अनुदान रकम प्रतिक्विन्टल ७० रुपैयाँबाट घटाएर ३५ रुपैयाँमा झरेको छ । तर, उखु किसानहरूले ७० रुपैयाँकै दरले भुक्तानी गर्नुपर्ने अडान राखेका छन् ।