तोकिएको समयभित्र इम्बोस्ड नम्बर प्लेट जडान नगरे पनि जरिवाना नलाग्ने


Capital Headline
प्रकाशित मिति : बुधबार, भाद्र ११ २०८२
1.8K
SHARES

११ भदौ काठमाडौं । सरकारले असोजबाट लागू हुने भनिएको इम्बोस्ड नम्बर प्लेट जडान नगर्ने सवारीसाधान तत्काल कारबाहीस्वरुप जरिवाना वा दण्ड नगरिने स्पष्ट पारेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले आज एक सूचना जारी गर्दै यस्तो स्पष्टोक्ति दिएको हो। आउँदो असोज १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट जडान नगरेको खण्डमा तुरुन्त जरिवाना वा कारबाहीमा परिने भन्ने कुरा भ्रम मात्र रहेको विभागले जनाएको छ। ‘तत्काललाई कुनै किसिमको दण्ड वा जरिवाना गरिने छैन’, विभागले भनेको छ, ‘आफूलाई अनुकूल भएको समयमा सवारी दर्ता गरेको यातायात कार्यालयमा गई स्वःस्फुर्त ढंगले इम्बोस्ड नम्बर प्लेट जडान गरी डिजिटलाइजेसन कार्यमा सहयोग गर्नसमेत आग्रह गर्दछौँ।’

इम्बोस्ड नम्बरको गुणस्तर, तथ्यांकको विवरण मुलुक बाहिर जाने गरेकोलगायतका गलत तथा भ्रामक सूचना प्रचारप्रसार भएकोमा गम्भीर ध्यनाकर्षण भएको विभागले जनाएको छ। इम्बोस्ड नम्बर प्लेटको गुणस्तर तोकिएअनुसार सुनिश्चित गरिएको, सवारीसाधनको सम्पूर्ण विवरण तथा तथ्यांक मुलुकभित्रै रहने गरी डा सुरक्षित रहने गरी सर्भरको व्यवस्थापन गरिएको विभागले स्पष्ट पारेको छ।त्यस्ता गलत, भ्रामक तथा अफवाहको पछि नलाग्न पनि विभागले आग्रह गरेको छ।