चिनियाँ राष्ट्रपतिले अमेरिकामाथि षड्यन्त्र गर्दै छन् – ट्रम्प


Capital Headline
प्रकाशित मिति : बुधबार, भाद्र १८ २०८२
1.5K
SHARES

१८ भदौ काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र उत्तर कोरियाका नेताहरूसँग मिलेर चिनियाँ राष्ट्रपति सी चिनफिङले अमेरिकाविरुद्ध षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् ।ट्रम्पको भनाइ चीनको सबैभन्दा ठूलो विजय दिवस परेडको बेला आएको हो । बेइजिङमा भएको परेडमा विश्वका धेरै नेताहरू सहभागी थिए । जसलाई चीनको सैन्य शक्तिको प्रदर्शन मानिएको छ ।

“तपाईंहरू अमेरिकाविरुद्ध षड्यन्त्र गरिरहेकाले भ्लादिमिर पुटिन र किम जोङ उनलाई मेरो न्यानो अभिवादन दिनुहोस्,” ट्रम्पले सामाजिक संजाल ट्रुथ सोसलमा भनेका छन् ।यसअघि, ट्रम्पले चीन, रुस र अन्य राष्ट्रबीचको बढ्दो सम्बन्धले विश्वमा अमेरिकालाई कुनै चुनौती नदिने बताएका थिएसामाजिक सञ्जालमा उनले दोस्रो विश्वयुद्धको बेला अमेरिकाले चीनलाई दिएको ‘ठूलो सहयोग र रगत’को पनि उल्लेख गरेका छन् । चीनको परेड जापानले आत्मसमर्पण गरेको र चीनले कब्जाबाट विजय हासिल गरेको ८० वर्ष पुगेको अवसरमा आयोजना गरिएको हो ।

ट्रम्पले भने, “चीनको विजय र गौरवका लागि धेरै अमेरिकीहरू मरेका थिए । मलाई उनीहरूको बहादुरी र बलिदानको लागि उनीहरूलाई उचित सम्मान र सम्झना गरिनेछ भन्ने आशा छ ।”परेडमा किम र पुटिनसहित २६ राष्ट्रप्रमुख सहभागी थिए । जसलाई केही पर्यवेक्षकहरूले पश्चिमी राष्ट्रहरूलाई दिइएको सन्देशका रूपमा हेरेका छन् ।

ट्रम्पले लगाएको ट्यारिफपछि चीनले आफूलाई अमेरिकाको सम्भावित प्रतिस्पर्धीको रूपमा उभ्याउन खोजेको छ ।ट्रम्पले अमेरिकी हित र उद्योगको रक्षाका लागि ट्यारिफ आवश्यक रहेको बताउँदै आएका छन् । यसका लागि कूटनीतिक मूल्य चुकाउन उनी तयार रहेको देखिन्छ ।

बीबीसीले अमेरिकाको विरोधमा बेइजिङ र उसका सहयोगीहरूले अन्तर्राष्ट्रिय गठबन्धन बनाउन खोजिरहेका छन् भन्ने प्रश्न सोध्दा ट्रम्पले भने, “होइन, बिल्कुलै होइन । चीनलाई हाम्रो आवश्यकता छ ।”उनले थपे, “तपाईंलाई थाहा छ, मेरो राष्ट्रपति सीसँग धेरै राम्रो सम्बन्ध छ । तर, हामीलाई भन्दा चीनलाई हाम्रो धेरै आवश्यकता छ । म त्यस्तो केही देख्दिनँ ।”

यसैगरी, मंगलबारको एक रेडियो अन्तर्वार्तामा ट्रम्पले रुस र चीनबीच बन्दै गरेको सम्बन्धले आफूलाई चिन्ता नभएको बताएका थिए । उनले अमेरिकासँग विश्वको सबैभन्दा शक्तिशाली सेना रहेको र उनीहरूले कहिल्यै पनि आफ्नो सेना आफूहरूविरुद्ध प्रयोग गर्ने नसक्ने बताएका थिए ।

“मलाई विश्वास गर्नुहोस्, त्यो उनीहरूले गर्न सक्ने सबैभन्दा खराब काम हुनेछ,” उनले भने ।अन्तर्वार्ताको अर्को भागमा ट्रम्पले पुटिनसँग गत महिना अलास्कामा भएको बैठकमा युक्रेनका लागि शान्ति सम्झौता हुन नसकेकाले आफू धेरै निराश भएको बताए । ट्रम्पले भने, “म राष्ट्रपति पुटिनसँग धेरै निराश छु ।”

उनले अमेरिकाले युक्रेनमा मानिसहरूलाई जीवनयापन गर्न मद्दत गर्ने केही काम गर्ने बताए । तर, के गर्ने भन्ने स्पष्ट पारेनन् ।पश्चिमा देशहरूले पुटिनको युक्रेन आक्रमणको आलोचना चीनले नगरेको र रुसलाई दोहोरो उपयोगका सामग्री आपूर्ति गरेर र रुसी तेल खरिद गरेर युद्धमा मद्दत गरेको आरोप लगाएको छ । बेइजिङले भने यो कुरा अस्वीकार गर्दै आएको छ ।