काठमाडौंमा बिहानैदेखि चहलपहल
२७ भदौ काठमाडौं । नेपाली सेनाले काठमाडौं, ललितपुर, भक्तपुरमा आज दिउँसो कर्फ्यू हटाएको छ । बिहानैदेखि उपत्यकाको सडकमा चहलपहल बढेको छ । अत्यावश्यक कामका लागि बिहान ६ देखि ११ बजेसम्म र बेलुकी ५ देखि ७ बजेसम्म खुल्ला गरिएको छ ।
अत्यावश्यक कामका लागि छुट्याइएको समय दैनिक उपभोग्यलगायत आवश्यक सामग्री किनमेल एवं धार्मिक-सांस्कृतिक परम्परा अवलम्वनका लागि हिँड्डुल गर्न, कर्मचारीहरू कार्यस्थलसम्म जान र फर्कन एवं जरुरी पर्नेलाई मात्र रहेको सेनाले जनाएको छ ।
जुलुस, धर्ना र प्रदर्शनलाई भने निषेध गरिएको छ । आज दिनभर कर्फ्यू लाग्ने छैन । अहिले बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म निषेधाज्ञा छ । भने, पुन: बेलुका ७ देखि भोलि बिहान ६ बजेसम्म कर्फ्यू लाग्नेछ ।
सेनाले विहीबार साँझबाट रातभर सुरक्षा तैनाथीसहित चेकजाँचमा कडाइ गरेको थियो । कर्फ्यूलाई कडा गर्न सैनिक मुख्यालयले उपत्यका पृतना र सैनिक प्रहरीलाई आदेश दिएको थियो ।आवतजावत गर्न पाइने भनिएका अत्यावश्यक सेवाका नाममा अनुचित मानिसको घुसपैठ हुने सम्भावनालाई गम्भीरताका साथ लिन भनिएको छ ।