पाकिस्तानले दियो चेतावनी


Capital Headline
प्रकाशित मिति : आइतबार, असोज १९ २०८२
1.6K
SHARES

१९ असोज काठमाडौं । पाकिस्तानको सेनाले भारतीय नेतृत्वबाट आएका उत्तेजक वक्तव्यहरूप्रति गम्भीर चिन्ता व्यक्त गर्दै चेतावनी दिएको छ । परमाणु शक्तिसम्पन्न दुई प्रतिद्वन्द्वीहरूबीचको अर्को द्वन्द्वले विनाशकारी विध्वंस निम्त्याउन सक्ने चेतावनी दिइएको छ ।पाकिस्तानको यो वक्तव्य भारतीय सेना प्रमुख उपेन्द्र द्विवेदीले दिएको चेतावनीको एक दिनपछि आएको हो । सेना प्रमुख द्विवेदीले इस्लामाबादलाई चेतावनी दिँदै अर्को पटक भारतीय सेनाले कुनै पनि संयम नदेखाउने र पाकिस्तानले यदि विश्व मानचित्रमा आफ्नो स्थान कायम राख्न चाहन्छ भने उसले आतंकवादलाई समर्थन दिन बन्द गर्नुपर्ने भनेका थिए ।

यसअघि, भारतीय रक्षामन्त्री राजनाथ सिंहले बिहीबार पाकिस्तानले ‘सर क्रिक’ क्षेत्रमा कुनै पनि दुस्साहस गरेमा त्यसको बलियो र निर्णायक जवाफ दिइने तथा त्यसले इतिहास र भूगोल दुवै बदल्न सक्ने बताएका थिए ।

सर क्रिक भारतको गुजरात र पाकिस्तानको सिन्ध प्रान्तबीच फैलिएको ९६ किलोमिटर लामो विवादित ‘टाइडल इस्चुअरी’ हो ।

पाकिस्तानी सेनाले एक वक्तव्यमा भन्यो, “हामीले भारतीय सुरक्षा निकायको उच्चतम तहबाट आउने भ्रमपूर्ण, उत्तेजक र अति–राष्ट्रवादी वक्तव्यहरूलाई गम्भीर चिन्ताका साथ लिएका छौँ ।”

वक्तव्यमा उत्तेजक वक्तव्यहरूको सामना गर्दै भविष्यको द्वन्द्वले विनाशकारी विध्वंस निम्त्याउन सक्ने चेतावनी दिइएको छ । “यदि, फेरि शत्रुताको नयाँ श्रृंखला सुरु भयो भने पाकिस्तान पछि हट्ने छैन । हामी कुनै हिचकिचाहट वा संयमबिना दृढतापूर्वक जवाफ दिनेछौँ,” वक्तव्यमा भनिएको छ ।

वक्तव्यमा पाकिस्तानसँग शत्रुको इलाकाको हरेक कुना–कुनासम्म युद्ध लैजाने क्षमता र संकल्प रहेको उल्लेख गरिएको छ । “यस पटक हामी भौगोलिक प्रतिरोधात्मकताको मिथकलाई चकनाचुर पार्दै भारतीय क्षेत्रको सबैभन्दा टाढासम्म प्रहार गर्नेछौँ,” उनले भने । यसवर्षको मे महिनामा भारत र पाकिस्तानबीचको चार दिने लडाइँ भारत शासित कश्मीरको पहलगाम पर्यटक स्थलमा अप्रिल २२ मा भएको आक्रमणबाट सुरु भएको थियो ।

नयाँ दिल्लीले उक्त आक्रमणको दोष इस्लामाबादमाथि लगाएको थियो, जसले जिम्मेवारी अस्वीकार गर्दै तटस्थ अनुसन्धानको माग गरेको थियो ।तर, भारतले ‘अपरेसन सिन्दुर’ नामक सैन्य कारबाही सुरु गर्‍यो, जसले पाकिस्तानका विभिन्न स्थानहरूलाई निशाना बनायो । त्यसपछि पाकिस्तानले ‘अपरेसन बुनियानुन मर्सुस’मार्फत जवाफी कारबाही गरेको थियो ।चार दिनसम्म हवाई आक्रमण भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १० मा युद्धविरामको घोषणा गरेका थिए ।