पाकिस्तान र अफगानिस्तानबीच तत्काल युद्धविराममा सहमति
२ कात्तिक काठमाडौं । केही दिनसम्म चलेको घातक सीमापार झडपपछि पाकिस्तान र अफगानिस्तान तत्काल युद्धविराम गर्न सहमत भएका छन् । कतारको विदेश मन्त्रालयले आइतबार यो सहमति भएको घोषणा गरेको हो ।यो घोषणा यसअघिको युद्धविरामपछि पाकिस्तानले गरेको हवाई आक्रमणमा कम्तीमा १० जना मारिएपश्चात् गरिएको छ । कतारको विदेश मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ, “वार्ताका क्रममा दुई पक्ष तत्काल युद्धविराम र दुई देशबीच स्थायी शान्ति र स्थिरता सुनिश्चित गर्न संयन्त्र स्थापना गर्न सहमत भएका छन् ।”
तनाव कम गर्न दुवै पक्षका अधिकारीबीच शनिबार दोहामा भेटवार्ता भएको थियो ।काबुलले यसअघि इस्लामाबादमाथि ४८ घण्टे युद्धविराम भंग गरेको आरोप लगाएको थियो । उक्त अवधिमा दुवै पक्षका दर्जनौँ सैनिक र नागरिकको ज्यान लिने गरी भएको करिब एक हप्ताको लडाइँलाई छोटो समयका निम्ति रोकिएको थियो ।
पाकिस्तानका सुरक्षा अधिकारीले अफगान सीमा क्षेत्रमा गरिएको पछिल्लो हमला पाकिस्तानी तालिबानसँग जोडिएको एउटा उग्रवादी समूहलक्षित रहेको बताए । यो आक्रमण पाकिस्तानी अर्धसैनिक बलमाथि गरिएको हमलाको प्रतिक्रिया रहेको उनीहरूको भनाइ छ ।तालिबानका अनुसार, दोहामा पाकिस्तानको प्रतिनिधिमण्डलमा रक्षामन्त्री ख्वाजा आसिफ र गुप्तचर प्रमुख जनरल आसिम मलिक संलग्न थिए । अफगान पक्षको नेतृत्व रक्षामन्त्री मोहम्मद याकूबले गरेका थिए ।
दुई देशबीच अक्टोबर ११ मा सीमामा हिंसा भड्किएको थियो । तालिबानका विदेशमन्त्री अमिर मुत्ताकीले भारतको दुर्लभ भ्रमण गरेको केही दिनपछि नै काबुलमा विस्फोट भएका थिए । त्यसलगत्तै तालिबान लडाकुले पाकिस्तानसँगको दक्षिणी सिमानामा हमला सुरु गरेका थिए । त्यसपछि पाकिस्तानले जवाफी कारबाही गरेको थियो ।