प्रचण्डको सचिवालयबाट गंगा दाहालले दिइन् राजीनामा
३ कात्तिक काठमाडौं । नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयबाट गंगा दाहालले राजीनामा दिएकी छन् । प्रचण्ड र पार्टीविरुद्ध नै प्रहार हुन थालेपछि आफूले पदबाट राजीनामा दिएको उनको भनाइ छ ।सोमबार उनले फेसबुकमा लेखेकी छन्, “नेकपा (माओवादी केन्द्र)का संयोजक प्रचण्ड र समग्र पार्टीविरुद्ध योजनाबद्ध प्रहार भइरहेका कारणले यस्तो अवस्थामा मैले सचिवालयको जिम्मेवारीबाट बाहिरिँदा नै बुवा, पार्टी र आन्दोलनका लागि राम्रो होला भन्ने निष्कर्षमा पुगेर बुवाको सचिवालयबाट राजीनामा दिएको छु ।”
आफूले प्रचण्डको सहयोगीका रूपमा राम्रो गर्ने कोसिस गरिरहे पनि विवादमा परेको उनको गुनासो छ । “जति राम्रो गर्छु भन्दा पनि जति नै विवादरहित भएर काम गर्छु भन्दा पनि विवादमा त परिहालिने रहेछ । म, मेरा दिदीहरू र भाइलाई महान् जनयुद्धको समयमा राज्य सत्ताले निरन्तर दुःख दिएका कारण पढाइबाट वञ्चित भएरै पार्टीमा निरन्तर लागिरहियो,” उनले भनेकी छन् ।
उनले भ्रामक सूचना दिनेहरूले आफ्नोबारे निरन्तर प्रहार गर्दै सञ्चार माध्यमको पनि दुरुपयोग गरेको बताएकी छन् ।“कहिले कति लाखको ब्याग भनिदिएको छ, कहिले कति लाखको घडी । एक लाख पर्ने घडी, ब्याग जिन्दगीमा कहिले पनि किनेको छैन । साथीभाइले जन्मदिनको अवसरमा दिएको उपहार थियो, सक्कली थियो कि नक्कली त्यो पनि जलेर खरानी भइसक्यो । अझै पनि त्यही कुरा ल्याएर प्रहार भइराखेको छ,” उनले भनिन् ।पार्टीको जिम्मेवार कार्यकर्ता भएकाले आजीवनरूपमा पार्टीमा भने क्रियाशील रहने उनको भनाइ छ ।