‘फ्यूज मेसिन’ अमेरिकी स्टक एक्सचेन्जमा सूचीकृत भयो नेपाली उद्यमीको कम्पनी
७ कात्तिक काठमाडौं । नेपाली उद्यमीको एआई कम्पनी फ्यूज मेसिन अमेरिकी स्टक एक्सचेन्जमा सूचीकृत भएको छ ।नेपाली मूलका उद्यमी डा. समीर मास्केले स्थापित गरेको कृत्रिम बौद्धिकता (एआई) मा काम गर्ने कम्पनी ‘फ्यूज मेसिन’ अमेरिकी स्टक एक्सचेन्ज नास्डाकमा औपचारिक रूपमा सूचीकृत भई कारोबार सुरु गरेको छ ।एन्टरप्राइज एआई सोलुसन्सको विश्वव्यापी अग्रणी कम्पनी फ्यूज मेसिनको साधारण शेयरको कारोबार नास्डाक स्टक मार्केटमा ‘फ्यूज’ सिम्बोल अन्तर्गत विहीबारदेखि सुरु भएको हो । यो उपलब्धिसँगै फ्यूज मेसिन नास्डाकमा सूचीकृत हुने पहिलो नेपाली मूलको कम्पनी बनेको छ ।कम्पनीले यो सफलतालाई ‘सबैका लागि एआईलाई लोकतान्त्रिक बनाउने’ आफ्नो मिसनको नयाँ अध्यायको सुरुवात मानेको छ । यो सार्वजनिक सूचीकरणले कम्पनीलाई विश्वव्यापी रूपमा बढ्दो एआई सोलुसन्सको मागलाई सम्बोधन गर्न मद्दत गर्ने विश्वास लिइएको छ ।
फ्यूज मेसिनका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत डा. समीर मास्केले यस अवसरमा खुसी व्यक्त गरेका छन् । ‘एउटा सानो, मिसन–प्रेरित टोलीबाट सुरु गरेर नास्डाकमा सूचीकृत कम्पनी बन्नु हाम्रो नवप्रवर्तन र कार्यसम्पादनप्रतिको अटल प्रतिबद्धतालाई झल्काउँछ,’ उनले भनेका छन्, ‘यो सूचीकरण हाम्रो अर्को अध्यायको सुरुवात हो, जुन अनुशासित वृद्धि, रणनीतिक लगानी र हाम्रा शेयरधनीहरूका लागि दिगो मूल्य सिर्जनामा केन्द्रित हुनेछ ।’सन् २०१३ मा स्थापित फ्यूज मेसिनले उत्तरी अमेरिका, एशिया (नेपाल, डोमिनिक रिपब्लिक लगायत) र ल्याटिन अमेरिकामा कार्यालयहरू स्थापना गरी स्वास्थ्य सेवा, वित्त, खुद्रा, उत्पादन र सरकारी क्षेत्रहरूमा सेवा दिँदै आएको छ ।
यो सूचीकरण प्रक्रियाअन्तर्गत कम्पनीले मर्जर सम्झौता मार्फत लगानी प्राप्त गरेको थियो । प्राप्त रकमको उपयोग कम्पनीको ब्यालेन्स सिटलाई बलियो बनाउन, उत्पादन नवप्रवर्तन, ग्राहक विस्तार तथा बिक्री र मार्केटिङमा रणनीतिक लगानी गर्न प्रयोग गरिने कम्पनीले जनाएको छ ।काठमाडौंमा जन्मिएका र कोलम्बिया विश्वविद्यालयका एसोसिएट प्रोफेसर समेत रहेका डा. मास्केले नास्डाकमा सूचीकृत हुनु आफ्नो कम्पनीका लागि ठूलो कोसेढुंगा र नेपाली मूलको कम्पनीका लागि ऐतिहासिक सफलता भएको प्रतिक्रिया दिएका छन् ।