चुनावमा लाग्नुबाहेक कुनै विकल्प छैन – प्रचण्ड


Capital Headline
प्रकाशित मिति : आइतबार, कार्तिक ९ २०८२
2K
SHARES

९ कात्तिक काठमाडौं । नेकपा (माओवादी केन्द्र)को महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश सम्हाल्ने, भ्रष्टाचार अन्त्य गर्ने र युवाको भावनाअनुसार अघि बढ्ने शक्ति माओवादी नै रहेको बताएका छन् । गोरखामा आयोजित कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, “हाम्रो पार्टीले अहिले जिल्ला–जिल्ला र गाउँसम्म कार्यक्रम गरिरहेको छ । आम जनताले अबको चुनावबाट देश सम्हाल्न माओवादी नै आउनुपर्छ भनेर विश्वास व्यक्त गरिरहेका छन् ।”

कार्यक्रममा प्रचण्डले जेनजी आन्दोलनले उठाएका मुद्दा र देशको वर्तमान राजनीतिक अवस्थासम्बन्धी विचार प्रस्तुत गर्दै पार्टीका आगामी कार्यदिशाबारे स्पष्ट सन्देश दिए । प्रचण्डले भने, “जेनजी आन्दोलनले उठाएका मुद्दा हामीले विगत संविधानसभा चुनावदेखि नै उठाउँदै आएका हौँ । अब ती मुद्दा पूरा गर्न हाम्रो पहल र जोड हुनेछ ।”हालको अन्तरिम सरकारप्रति स्पष्ट मत प्रस्तुत गर्दै उनले भने, “केपी ओलीको सिफारिसमा राष्ट्रपतिले बनाएको अन्तरिम सरकारप्रति हामीले पनि समर्थन जनाएका थियौँ । तर हाम्रो मत संसद्बाट अनुमोदन गरेर र संविधान संशोधन गरेर मात्र संसद् विघटन गरौँ भन्ने थियो । जेनजी आन्दोलन हाम्रा उत्तराधिकारी हुन् । हामी भ्रष्टाचार, कुशासन र बेथितिविरुद्ध निरन्तर लडिरहेका थियौँ ।”

चुनावको सन्दर्भमा अध्यक्ष प्रचण्डले सबै राजनीतिक दललाई निर्वाचन तयारीमा जुट्न आग्रह गरे । उनले भने, “चुनाव घोषणा भइसकेको अवस्थामा सफल पार्नु नै हाम्रो पहिलो कार्यभार हो । सरकारलाई निष्पक्ष निर्वाचनको वातावरण बनाउन आग्रह गर्दछु । चुनाव हुनेछ कि हुँदैन भन्ने होइन, अब चुनावमा लाग्नुबाहेक कुनै विकल्प छैन ।”पार्टीले जिल्ला र गाउँसम्म कार्यक्रम गरिरहेको बताए । “हाम्रो पार्टीले अहिले जिल्ला–जिल्ला र गाउँसम्म कार्यक्रम गरिरहेको छ । आम जनताले अबको चुनावबाट देश सम्हाल्न माओवादी नै आउनुपर्छ भनेर विश्वास व्यक्त गरिरहेका छन्,” संयोजक प्रचण्डले भने ।

जेनजी युवाहरूसँग छलफल हुँदै गएको स्पष्ट पार्दै उनले आफ्नो असली अभिभावक माओवादी नै हो भन्ने निष्कर्षमा पुग्दै गएको बताए । उनले भने, “हाम्रो केन्द्रीय समितिले पार्टीभित्रको एकता विरोधी र नेतृत्व विरोधी प्रवृत्तिलाई एकताबद्ध भएर परास्त गरेको छ । विचार मिल्नेहरूसँग एकता गरिन्छ, तत्काल सम्भव नभए संयुक्त मोर्चा बनाएर अघि बढिन्छ ।”अहिले पनि प्रतिगामी खतरा कायम रहेको भन्दै प्रचण्डले त्यस्ता तत्वबाट सावधान रहन पार्टी कार्यकर्तालाई आग्रह गरे ।