एकताको सहमति अनुमोदन गर्दै माओवादी केन्द्र
१८ कात्तिक काठमाडौं । नेकपा (माओवादी केन्द्र)को महाधिवेशन आयोजक समितिको बैठक आज (कात्तिक १८) बस्दै छ । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानको भवनमा दिउँसो १ बजे बस्ने गरी बैठक आह्वान गरिएको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।भने, “आठ दलबीच एकताको सहमति भएको छ । हाम्रो पार्टीको केन्द्रीय आयोजक समितिले उक्त विषय अनुमोदन गर्नुपर्छ । त्यसका लागि बैठक बस्न लागेको हो ।”
माओवादी, नेकपा (एकीकृत समाजवादी)लगायत आठ पार्टी/समूहबीचको एकीकृत सांगठनिक, नीतिगतलगायत विषयमा छलफल गरिए पनि पार्टी कार्यालय कहाँ राख्ने भन्ने विषय टुंगो लागिनसकेको उनको भनाइ छ ।
यी दुईसहित नेकपा, नेकपा समाजवादी, जनसमाजवादी पार्टी नेपाल, नेपाल समाजवादी पार्टी, नेकपा माओवादी समाजवादी र नेकपा साम्यवादीबीच एकताको सहमति भइसकेको छ ।बुधबार (कात्तिक १९) राष्ट्रिय भेला गरेर एकता घोषणा गर्ने उनीहरूबीच सहमति भएको छ ।
गएको मंसिरमा माओवादी केन्द्रको केन्द्रीय कमिटी भंग गरेर महाधिवेशन आयोजक समिति गठन गरिएको थियो । महाधिवेशन आउँदो मंसिरमा गर्ने तय छ । तर, चुस्त तयारी गरिएको छैन ।