धान उत्पादनमा ५ प्रतिशत कमी आउने प्रक्षेपण
२६ कात्तिक काठमाडौं । यसवर्ष आएको वर्षाका कारण कृषि क्षेत्रमा भएको क्षतिले धानको उत्पादनमा पाँच प्रतिशतले कमी आउने प्रक्षेपण गरिएको छ ।वर्षाका कारण देशभर कृषि तथा पशुपन्छी क्षेत्रमा तीन अर्ब ५५ करोड रुपैयाँको क्षति भएको तथ्यांकका आधारमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गरेको विश्लेषणका आधारमा धानको उत्पादन घट्ने प्रक्षेपण गरिएको हो ।
गत वर्षमा ५९ लाख ५५ हजार मेट्रिक टन धान उत्पादन भएकामा त्यसको तीन प्रतिशतअर्थात् करिब तीन लाख मेट्रिक टन कम उत्पादन हुने आकलन गरिएको मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिए ।
उनका अनुसार जलवायु परिवर्तनको प्रभावले बाढी, वर्षा, भू–क्षयलगायत विपद्का कारण सबैभन्दा धेरै क्षति कृषि क्षेत्रमा भएको छ । विगत चार–पाँच वर्षदेखि धान उत्पादनमा वृद्धि हुँदै आइरहेकाले यस पटक ६० लाख मेट्रिक टनभन्दा बढी धान उत्पादन हुने प्रारम्भिक अनुमान गरिएको थियो । क्षतिले लक्ष्यमा पुग्न गाह्रो हुने देखिएको मन्त्रालयले जनाएको छ ।