श्रीलंकामा ‘दित्वा’ आँधीबाट ठूलो विनाश


Capital Headline
प्रकाशित मिति : आइतबार, मंसिर १४ २०८२
1.3K
SHARES

१४ मंसिर काठमाडौं । श्रीलंकामा ‘दित्वा’ आँधीपछिको विपद्‌मा २० हजारभन्दा बढी घर नष्ट भएको छ । एक लाखभन्दा बढी मानिसलाई सरकारी अस्थायी शिविरहरूमा राखिएको देशको विपद् व्यवस्थापन विभागले जनाएको छ ।विभागका महानिर्देशक सम्पत कुतोवेगोदाले ५९ बढी मानिसको मृत्यु र २०० जनाभन्दा धेरै बेपत्ता भएका बताएका छन् । राहत तथा उद्धार कार्यमा स्थल, वायु र नौसेनाको पनि मद्दत लिइएको उनले उल्लेख गरे ।

मध्य श्रीलंकास्थित बादुला जिल्लामा सडकबाट पुग्न असम्भव भएका कारण धेरै ठाउँको अवस्था अस्तव्यस्त छ । गाउँसम्म राहत सामग्री पुर्‍याउन समस्या भइरहेको जनाइएको छ ।सबैभन्दा बढी प्रभावित गाउँमा मानिस मन्दिर र घरमा शरण लिएर बसिरहेका छन् । भूस्खलनका कारण सडक भत्किएकाले त्यहाँ बाहिरी मानिस पुग्न सकेका छैनन् । खाना र पिउने पानीको पनि समस्या भएको छ ।

देशको एकतिहाइ हिस्सामा बिजुली र पानीको अभाव भएको अधिकारीहरूले बताएका छन् । धेरै इलाकामा इन्टरनेट सेवा पनि अवरुद्ध छ ।कोलम्बोबाट पूर्वतर्फ ११५ किलोमिटर टाढा क्यान्डीमा भूस्खलन भएको छ । सडक भत्किएको छ । धेरै इलाकामा जान सम्भव छैन ।श्रीलंकामा यो विगत आठ वर्षमा सबैभन्दा ठूलो प्राकृतिक विपत्ति हो । सन् २०१७ मा पनि त्यहाँ बाढी र भूस्खलनमा परी २०० जनाको मृत्यु भएको थियो । लाखौँ मानिस घरबारविहीन भएका थिए ।