ट्रम्पले थप ५ देशका नागरिकलाई अमेरिका प्रवेशमा लगाए रोक


Capital Headline
प्रकाशित मिति : बुधबार, पौस २ २०८२
1.9K
SHARES

२ पुस काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा फराकिलो पार्दै थप पाँच देशलाई यसमा समावेश गरेको छ । अन्य धेरै देशमाथि नयाँ प्रतिबन्धहरू पनि लगाइएको छ । मंगलबार ट्रम्प प्रशासनद्वारा जारी गरिएको आदेश उनको अध्यागमन नीतिलाई अझ कडा बनाउने निरन्तर प्रयासको एक अंश भएको समाचारमा उल्लेख छ ।

यो निर्णय यस्तो समयमा आएको छ, जब केही दिनअघि अफगान मूलका एक व्यक्तिले वासिङ्टन डीसीमा नेशनल गार्डसका दुई सैनिकलाई गोली हानेका थिए ।यसअघि, जुनमा राष्ट्रपति ट्रम्पले १२ देशका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाएका थिए । अन्य सात देशका नागरिकमाथि विभिन्न किसिमका प्रतिबन्ध लगाएका थिए । ट्रम्पले आफ्नो पहिलो कार्यकालको दौरानमा पनि यस्तै नीति अपनाएका थिए ।

मंगलबार ट्रम्प प्रशासनले घोषणा गरेका अमेरिका प्रवेशमा प्रतिबन्ध लगाइएका देशहरूको सूचीमा बुर्किना फासो, माली, नाइजर, साउथ सुडान र सीरिया समावेश छन् । सरकारले प्यालेस्टिनी प्राधिकरणद्वारा जारी गरिएका यात्रा कागजात बोकेका मानिसहरूको पनि अमेरिका यात्रामाथि पूर्ण रूपमा रोक लगाएको छ ।

आंशिक प्रतिबन्धहरूको सामना गरिरहेका देशहरूको सूचीमा अब थप १५ देश पनि जोडिएको छ । यसमा अंगोला, एन्टिगुआ र बारबुडा, बेनिन, कोटे डी आइभर, डोमिनिका, ग्याबोन, गाम्बिया, मलावी, मौरिटानिया, नाइजेरिया, सेनेगल, तान्जानिया, टोंगा, जाम्बिया र जिम्बाब्वे समावेश छन् ।

यसअघि १२ देशमाथि यात्रा प्रतिबन्ध लगाइएको थियो । ती देशहरूमा अफगानिस्तान, म्यानमार, चाड, रिपब्लिक अफ कंगोे, इक्वेटोरियल गिनी, एरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान र यमन समावेश थिए । बुरुन्डी, क्युबा, लाओस, सियरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएल का नागरिकहरूमाथि कडा प्रतिबन्ध लगाइएको थियो ।