पाकिस्तानले लिबियालाई ४०० करोड डलरका हतियार बेच्ने


Capital Headline
प्रकाशित मिति : मंगलबार, पौस ८ २०८२
2K
SHARES

८ पुस काठमाठौं । पाकिस्तानले चार सय करोड डलरभन्दा बढी मूल्यका सैन्य उपकरणहरू लिबियालाई बेच्ने भएको छ । पाकिस्तानी अधिकारीहरूलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले जनाएअनुसार यो सम्झौताअन्तर्गत पाकिस्तानले लिबियन नेशनल आर्मी (एलएनए)लाई यी उपकरणहरू बेच्नेछ । तर, संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले लिबियामा हातहतियार प्रतिबन्ध लगाएको छ । लिबियालाई हतियार र सैन्य उपकरण बेच्ने वा खरिद गर्नेमा निषेध छ ।

लिबियासँग भएको यो सम्झौतालाई पाकिस्तानको अहिलेसम्मको सबैभन्दा ठूलो हतियार बिक्री बताइएको छ । पाकिस्तानका सेना प्रमुख फिल्ड मार्शल आसिम मुनीर गत हप्ता लिबियाको बेन्घाजी सहर गएका थिए । त्यहाँ एलएनएका डेप्युटी कमान्डर–इन–चिफ सद्दाम खलीफा हफ्तारसँगको भेटपछि हतियार सम्झौता भएको रोयटर्सले जनाएको छ ।

उसले सम्झौतामा हस्ताक्षर हुनुअघि नै सम्झौताको एक प्रति प्राप्त गरेको रोयटर्सले दाबी गरेको छ । त्यसमा १६ वटा जेएफ–१७ लडाकु विमानहरू खरिद् तथा बिक्री गर्ने उल्लेख थियो । यो एक कम्ब्याट एयरक्राफ्ट हो, जसलाई पाकिस्तान र चीनले मिलेर बनाएका छन् ।रोयटर्ससँग पाकिस्तानी अधिकारीहरूमध्ये एकले यो सूची सही भएको बताए ।यसबारे प्रश्न गर्दा पाकिस्तानको विदेश मन्त्रालय, रक्षा मन्त्रालय र सेनाबाट रोयटर्सलाई कुनै जवाफ प्राप्त भएको छैन ।

यद्यपि, डिसेम्बर २१ मा एलएनएले आफ्नो आधिकारिक मिडिया च्यानलमा पाकिस्तानसँग भएको ‘रक्षा सहयोग सम्झौता’ भएको बताएको छ । यसमा हतियार बिक्री, संयुक्त अभ्यास र सैन्य निर्माण समावेश छन् ।पाकिस्तानले आफ्नो रक्षा निर्यात बढाउने प्रयास गरिरहेको रोयटर्सको समाचारमा उल्लेख छ । यस क्रममा उसले सन् २०२५ को मे महिनामा भारतसँग भएको युद्धका क्रममा आफ्नो वायुसेनाको कथित प्रदर्शनलाई पनि गणना गरिरहेको छ ।

‘अल–हादेस’ च्यानलमा प्रसारित समाचारमा आसिम मुनीरले भने, “भारतसँग हाम्रो हालैको युद्धले विश्वलाई हाम्रा उन्नत क्षमताहरू देखाइदियो ।”पाकिस्तान खाडी देशहरूमा आफ्ना रक्षा सम्बन्ध बलियो बनाउने प्रयासमा छ । सेप्टेम्बर २०२५ मा साउदी अरबसँग उसको रक्षा सम्झौता भएको थियो । कतारसँग पनि उसको कुराकानी चलिरहेको छ । लिबियासँगको सम्झौताले उत्तर अफ्रिकामा उसको प्रभाव बढाउन सक्छ ।