रसुवागढी नाका आजदेखि पुनः सञ्चालनमा


Capital Headline
प्रकाशित मिति : बिहिबार, पौस १७ २०८२
1.9K
SHARES

१७ पुस रसुवा । रसुवागढी अन्तर्राष्ट्रिय नाका आज (पुस १७)देखि पुनः पूर्ण रूपमा सञ्चालनमा ल्याइएको छ । गएको असार २४ गते ल्हेन्देखोलामा आएको बाढीले मितेरी पुल बगाएपछि पूर्ण रूपमा बन्द भएको नाका बिहीबार बिहानदेखि सञ्चालनमा ल्याइएको रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले जानकारी दिए ।चीन सरकारले ९१ मिटर लम्बाइको बेलीब्रिज निर्माण गरेपश्चात् सवारीसाधन सञ्चालनमा ल्याइएको उनले बताए । उक्त पुलको भारवहन क्षमता ५५ टनबराबर रहेको उनले जानकारी दिए ।

नाका खुलाइएपश्चात् चिनियाँ सामान आयातका निम्ति आठ नेपाली कन्टेनर मितेरी पुल पार गरी केरुङतर्फ प्रस्थान गरिसकेको प्रहरीले जनाएको छ ।सीमा प्रहरीचौकी टिमुरेका प्रहरी निरीक्षक विक्रम कुँवरले केही सवारीसाधन त्यसतर्फ जान तयारी अवस्थामा रहेको बताए ।सामान आयातको करबाट संकलन हुने राजस्व गत वर्षको तुलनामा यसपालि हालसम्म २२ अर्ब रुपैयाँभन्दा बढी नोक्सान भइसकेको प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईले जानकारी दिए ।

स्याफ्रुबेँसी–रसुवागढीखण्डको सडक जीर्ण हुँदा मालवाहक सवारीसाधन सञ्चालनमा समस्या हुनुका साथै सम्भावित दुर्घटना न्यूनीकरण गरी जनधनको सुरक्षामा विशेष ध्यान दिन सरोकारवाला निकायलाई आग्रह गरिएको सवारीचालक रसुवाको यार्साका सुकु तामाङले बताए ।असार २४ गतेको बाढीले दर्जनौँ स्थानमा सडक कटान गरेको थियो । गल्छी–रसुवागढी सडक सुधार आयोजनाले मर्मत गरेर बाटोको ट्रयाक मात्र खोलेको थियो ।