जेन-जी आन्दोलन : पाँच अर्ब ४८ करोड दाबी भुक्तानी


Capital Headline
प्रकाशित मिति : शुक्रबार, पौस १८ २०८२
1.8K
SHARES

१८ पुस काठमाडौं । बिमा कम्पनीहरूले पाँच अर्ब ४८ करोड दाबी रकम बिमितहरूलाई भुक्तानी गरेका छन् । नेपाल बिमा प्राधिकरणका अनुसार हालैको जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको निर्जीवन बिमा कम्पनीमा परेका कुल तीन हजार ३१६ वटा बिमा दाबीको करिब २३ अर्ब ४७ करोड दाबी रकम परेको थियो ।  सोमध्ये हालसम्ममा अग्रीम भुक्तानीसमेत गरी करिब पाँच अर्ब ४८ करोड २५ लाख दाबी रकम बिमितलाई भुक्तानी कम्पनीले गरिसकेका हुन् ।

प्राधिकरणमा १४ वटा निर्जीवन बिमा कम्पनी र चारवटा लघु निर्जीवन बिमा कम्पनीबाट प्राप्त अद्यावधिक तथ्यांकअनुसार, कम्पनीबाट अग्रिम भुक्तानीसमेत गरी भुक्तानी भएको कुल दाबी रकममध्ये सम्पत्ति बिमातर्फ कुल ७१२ वटा बिमा दाबीको दाबी रकम करिब १९ अर्ब पाँच करोडमध्ये करिब तीन अर्ब ९३ करोड ५९ लाख र मोटर बिमातर्फ कुल दुई हजार ३२१ वटा बिमा दाबीको दाबी रकम करिब तीन अर्ब ४६ करोड १६ लाखमध्ये करिब एक अर्ब ३९ करोड २५ लाख भुक्तानी भएको छ ।

यसैगरी, इन्जिनियरिङ तथा ठेक्का जोखिम बिमातर्फ कुल २२६ वटा बिमा दाबीको करिब ५५ करोड ३९ लाख दाबी रकममध्ये करिब आठ करोड ३६ लाख, परिवहन बिमातर्फ कुल १२ वटा बिमा दाबीको करिब एक करोड ६९ लाख दाबी रकममध्ये करिब एक करोड ५५ लाख र अन्य बिमातर्फ कुल ४५ वटा बिमा दाबीको करिब ३८ करोड ४० लाख दाबी रकममध्ये करिब पाँच करोड अग्रिम भुक्तानीसमेत गरी दाबी रकम भुक्तानी भएको छ ।

यस्तै, जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बिमा दाबी भुक्तानीका लागि नेपाल पुनर्बिमा कम्पनीले निर्जीवन बिमा कम्पनीहरूलाई कुल करिब तीन अर्ब दुई करोड अग्रिम भुक्तानीसहित पुनर्बिमा दाबी भुक्तानी गरेको प्राधिकरणले जानकारी दिएको छ ।प्राधिकरणका अनुसार नेपाल पुनर्बिमा कम्पनीमा विभिन्न १४ वटा निर्जीवन बिमा कम्पनीबाट परेका कुल दुई हजार ८६३ वटा पुनर्बिमा दाबीको कुल पुनर्बिमा दाबी रकम करिब १६ अर्ब ६२ करोड ६६ लाख रहेको छ ।