पुनर्निर्माण कोषमा १३ करोड ३५ लाख संकलन
२१ पुस काठमाडौं । गएको भदौ २३ र २४ गतेको ‘जेनजी’ प्रदर्शनका क्रममा आगजनी र तोडफोडबाट क्षति भएको भौतिक संरचनाको पुनर्निर्माणका निम्ति सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा हालसम्म १३ करोड ३५ लाख ६५ हजार रुपैयाँ जम्मा भएको छ । सोमबार (पुस २१) बिहानसम्म उक्त रकम जम्मा भएको अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले जानकारी दिए ।सोमबार कोषमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत एक करोड एक लाख रुपैयाँ सहयोग उपलब्ध गराएको पनि मन्त्रालयले जनाएको छ ।
गएको हप्ता मेटलाइफ नेपालले २५ लाख र त्यसअघि दी ओरिएन्टल इन्स्योरेन्सले २० लाख रुपैयाँ सहयोग गरेका थिए ।कोषमा योगदानका निम्ति सरकारले सर्वसाधारण नागरिक, निजी क्षेत्र, गैरआवासीय नेपाली, विकास साझेदार, विभिन्न संघसंस्था, दातृनिकायलगायत सबैलाई आग्रह गरेको थियो ।
पुनर्निर्माण कोषमा गरिने आर्थिक सहायता रकम योगदानकर्ताको चालु आर्थिक वर्षको करयोग्य आय गणना गर्दा घटाउन वा खर्च कट्टी गर्न पाइने सुविधा सरकारले दिएको छ ।पुनर्निर्माण कोषका निम्ति राष्ट्रिय वाणिज्य बैंक सिंहदरबार शाखामा खाता खोलिएको छ । योगदानकर्ताले कोषको खाता नम्बर १९६०१००१०२०७०००४ मा सहायता रकम जम्मा गर्न सक्नेछन् ।