धमाधम खुल्दै आईपीओ
२३ पुस काठमाडौं । नेपाल धितोपत्र बोर्डको स्वीकृतिपछि धमाधम प्राथमिक सेयर (आईपीओ) निष्कासन हुन थालेका छन् । बोर्डबाट स्वीकृति पाएका ८ कम्पनीले सर्वसाधारणलाई आईपीओ निष्कासन गर्न बाँकी छ । स्वीकृति पाएका यी ८ कम्पनीले पालैपालो आईपीओ निष्कासन गर्नेछन् । बोर्डबाट स्वीकृत पाएर निष्कासनका लागि बाँकी रहेका कम्पनीमा पाल्पा सिमेन्ट, सोलु हाइड्रोपावर, होटल फरेस्ट इन, शिखर पावर, सुपर खुदी हाइड्रोपावर, सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिक, रिजलाइन इनर्जी र भुजुङ हाइड्रोपावर छन् ।
बोर्डबाट विवरणपत्र, बिक्री प्रस्ताव वा सम्बन्धित विवरण स्वीकृत भएको मितिबाट दुई महिनाभित्र संगठित संस्थाले धितोपत्रको बिक्री खुल्ला गरी सक्नुपर्ने व्यवस्था धितोपत्र दर्ता तथा निष्कासन नियमावलीमा उल्लेख छ । तसर्थ यी ८ कम्पनीले बोर्डबाट स्वीकृत पाएको २ महिनाभित्रै आईपीओ निष्कासन गरिसक्नुपर्छ।सम्बन्धित नियामक निकायले अन्यथा तोकेकोमा बाहेक संगठित संस्थाले जारी पूँजीको दश प्रतिशत भन्दा घटी र ४९ प्रतिशत भन्दा बढी नहुने गरी सेयरको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गर्नुपर्ने व्यवस्था सो नियमावलीमा छ ।