भारत र ब्राजिलबीच महत्त्वपूर्ण सम्झौता


Capital Headline
प्रकाशित मिति : आइतबार, फाल्गुन १० २०८२
1.7K
SHARES

१० फागुन काठमाडौं । भारत र ब्राजिलले ‘महत्वपूर्ण खनिज’ र ‘रेयर अथ मिनरल्स’को क्षेत्रमा सहयोग बढाउन शनिबार (फेब्रुअरी २१) एक दूरगामी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाबीच नयाँ दिल्लीमा भएको गहन वार्तापश्चात् यो साझेदारीलाई अन्तिम रूप दिइएको हो ।यो सम्झौताले दुई देशको द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउनुका साथै विश्वव्यापी आपूर्ति शृंखलाको समीकरण बदल्ने क्षमता राख्ने जनाइएको छ ।

मोदीले यो सम्झौतालाई भविष्यको ऊर्जा सुरक्षाका निम्ति कोसेढुंगाका रूपमा चित्रण गरे । संयुक्त पत्रकार सम्मेलनमा उनले भने, “क्रिटिकल मिनरल्स र रेयर अथसम्बन्धी यो सम्झौता लचिलो सप्लाई चेन बनाउने दिशामा एउटा ठूलो कदम हो । ब्राजिल र भारतबीच बढ्दो व्यापार केवल एउटा तथ्यांक मात्र होइन, बरु यो हाम्रो गहिरो आपसी विश्वासको प्रतिविम्ब हो ।”

भारत हाल आफ्ना दुर्लभ खनिज आवश्यकताका निम्ति चीनमा निर्भर छ । चीन यी खनिजहरूको सबैभन्दा ठूलो उत्पादक हो ।तर, भारतले आन्तरिक उत्पादन बढाउन र रिसाइक्लिङका साथै सक्रिय रूपमा नयाँ विश्वव्यापी आपूर्तिकर्ताको खोजी गरिरहेको छ । ब्राजिलसँग विश्वको दोस्रो ठूलो क्रिटिकल मिनरल भण्डार छ । यी खनिज इलेक्ट्रिक सवारीसाधन, सोलर प्यानल र स्मार्टफोनदेखि अत्याधुनिक जेट इन्जिन र गाइडेड मिसाइल बनाउन प्रयोग गरिन्छ ।

ब्राजिलका राष्ट्रपति लुला दा सिल्भाले लगानीका अवसरमा जोड दिँदै भने, “ऊर्जा र क्रिटिकल मिनरल्सको क्षेत्रमा लगानी र सहयोग बढाउनु आज हामीद्वारा हस्ताक्षरित यस अग्रणी सम्झौताको केन्द्रविन्दु हो ।”भारतीय विदेश मन्त्रालयका सचिव पी कुमारनले भने, “ब्राजिलको कुल भण्डारको हालसम्म केवल ३० प्रतिशत मात्र खोजी गरिएको छ । यसको अर्थ त्यहाँ खनिज खोजी, प्रोसेसिङ गर्ने र तिनीहरूको औद्योगिक उपयोगका निम्ति अझै पनि धेरै ठूलो सम्भावना बाँकी छ ।”

दिल्लीस्थित थिंक ट्यांक काउन्सिल अन एनर्जी, इन्भायरमेन्ट एन्ड वाटरका विज्ञ ऋषभ जैनका अनुसार, ब्राजिलसँगको यो सहयोग भारतको त्यो व्यापक रणनीतिको हिस्सा हो, जसअन्तर्गत उसले अमेरिका, फ्रान्स र युरोपेली संघसँग पनि यसैगरी सहयोग बढाइरहेको छ ।जैनले भने, “जहाँ पश्चिमी देशहरूसँगको साझेदारीले भारतलाई उन्नत प्रविधि र कोषसम्म पहुँच प्रदान गर्छ, त्यहीँ ब्राजिलजस्ता ‘ग्लोबल साउथ’का देशहरूसँगको गठबन्धन स्रोतमा सिधा पहुँच सुनिश्चित र विश्वव्यापी व्यापारका नयाँ नियम तय गर्न आवश्यक छ ।”

मोदीले दुवै देश अबका पाँच वर्षमा आफ्नो द्विपक्षीय व्यापारलाई २० अर्ब डलरभन्दा माथि लैजान प्रतिबद्ध रहेको घोषणा गरे । सन् २०२५ मा यो व्यापार १५ अर्ब डलरमाथि थियो । ब्राजिलबाट भारततर्फ चिनी, कच्चा तेल, वनस्पति तेल, कपास र फलाम ठूलो परिमाणमा निर्यात गरिन्छ । भारतमा भइरहेको द्रुत पूर्वाधार विकासले ब्राजिलको फलामको धाउको माग निकै बढाएको छ ।

रक्षा सहयोगका बारेमा मोदीले भने, “जब भारत र ब्राजिल मिलेर काम गर्छन्, तब ग्लोबल साउथको आवाज अझ बलियो र आत्मविश्वासी बन्छ ।”राष्ट्रपति लुलाले ब्राजिल केवल बिक्रेता मात्र बन्न नचाहने स्पष्ट पारे । बिजनेस फोरममा उनले भने, “हामी केवल बेच्न चाहँदैनौँ । हामी भारतमा लगानी गर्न, आफ्नो उपस्थिति बलियो बनाउन र प्रविधि हस्तान्तरणका साथै कर्मचारीहरूको तालिममा पनि काम गर्न चाहन्छौँ ।”गएको महिना यसै दिशामा ब्राजिलको कम्पनी एम्ब्रेयर र अदानी समूहले भारतमै विमान बनाउने आफ्नो योजना घोषणा गरेका थिए ।