उत्तर कोरियाले गर्‍यो १० वटा मिसाइल प्रक्षेपण


Capital Headline
प्रकाशित मिति : आइतबार, चैत्र १ २०८२
1.2K
SHARES

१ चैत काठमाडौं । उत्तर कोरियाले शनिबार पूर्वी समुद्री क्षेत्रतर्फ करिब १० वटा ब्यालिस्टिक मिसाइल प्रक्षेपण गरेको छ । यसलाई दक्षिण कोरियाले एसियामा बढ्दो तनावबीच ठूलो सैन्यशक्ति प्रदर्शनका रूपमा हेरेको छ । यी मिसाइल राजधानी प्योङयाङनजिकै सुनान क्षेत्रबाट प्रहार गरिएका थिए । करिब ३४०–३५० किमि उडान भरेपछि समुद्रमा खसेको दक्षिण कोरियाली सेनाले जनाएको छ । यिनीहरूको दिशा जापानको समुद्री क्षेत्रतर्फ थियो ।

अमेरिका र दक्षिण कोरिया संयुक्त सैन्य अभ्यास गरिरहेका बेला उत्तर कोरियाले गरेको मिसाइल प्रक्षेपणलाई गम्भीर रूपमा हेरिएको छ । वासिंगटन र सोल यी अभ्यासलाई रक्षात्मक बताए पनि उत्तर कोरियाले यिनलाई आक्रमणको तयारीका रूपमा लिने गरेको छ । विज्ञहरूका अनुसार, उत्तर कोरियाले प्रायः यस्ता अभ्यासको जवाफमा मिसाइल परीक्षण वा प्रक्षेपण गर्ने गर्छ ।

दक्षिण कोरियाको संयुक्त चिफ अफ स्टाफले मिसाइल प्रहारपछि क्षेत्रमा निगरानी र सतर्कता बढाइएको बताएको छ । जापानले पनि मिसाइलहरू उसको विशेष आर्थिक क्षेत्र बाहिर खसेको र कुनै क्षतिको सूचना नरहेको पुष्टि गरेको छ ।यस घटनाक्रमले एसिया–प्रशान्त क्षेत्रमा सुरक्षा चिन्ता थप बढाएको बताइएको छ । हालैका दिनमा अमेरिकी रक्षा स्रोतको सम्भावित पुनः तैनाथी र अन्य विश्वव्यापी तनावका कारण क्षेत्रीय सन्तुलनलाई लिएर पनि बहस तीव्र भएको छ ।

अर्कातर्फ, कूटनीतिकस्तरमा अमेरिका र उत्तर कोरियाबीच संवादको सम्भावनाबारे पनि चर्चा भइरहेको छ ।  यद्यपि, प्योङयाङले अहिलेसम्म स्पष्ट संकेत दिएको छैन । केही रिपोर्टहरूमा, उत्तर कोरियाले राम्रो सम्बन्धका लागि आफ्नो आणविक स्थितिलाई मान्यता दिनुपर्ने मागतिर संकेत गरेको पनि उल्लेख छ ।

लगातारको मिसाइल प्रहारका गतिविधिकै कारण उत्तर कोरियाले संयुक्त राष्ट्रसंघको कडा प्रतिबन्धको सामना गरिरहेको छ । यद्यपि, उसले आफ्ना हतियार कार्यक्रमलाई जारी राखेको छ । अहिले गरिएको प्रक्षेपणलाई पनि उसको सैन्य क्षमता देखाउने र सम्भावित खतराको सन्देश दिने रणनीतिका रूपमा हेरिएको छ ।

अमेरिकाले दक्षिण कोरियाबाट आफ्ना रक्षा सामग्री हटाउँदै 

इरान युद्धका कारण दक्षिण कोरियामा सम्भावित सुरक्षा कमजोरीलाई लिएर चिन्ता बढेको छ । स्थानीय सञ्चारमाध्यमले सुरक्षा क्यामेराका फुटेज र अन्य तस्बिरलाई उद्धृत गर्दै अमेरिकाले इरानविरुद्धको अभियानमा सहयोग पुर्‍याउन दक्षिण कोरियामा तैनाथ केही मिसाइल रक्षा सामग्री स्थानान्तरण गरिरहेको अनुमान गरेका छन् ।

अमेरिकी सेनाले दक्षिण कोरियाको सियोङ्जुमा रहेको आफ्नो टर्मिनल हाई अल्टिच्युड एरिया डिफेन्स प्रणालीबाट ‘इन्टरसेप्टर’ मिसाइलहरू पश्चिम एसियामा सार्दै गरेको बताइएको छ । राष्ट्रपति ली जे म्युङको कार्यालयले भने अमेरिकी सैन्य अभियानका विवरणहरू पुष्टि गर्न नसकिने बताएको छ । कार्यालयले अमेरिकी सैन्य सामग्रीको सम्भावित स्थानान्तरणले आणविक हतियारसम्पन्न उत्तर कोरियाविरुद्धको रक्षा स्थितिमा असर नपर्ने बताएको छ ।