वर्षाले किसानमा खुसी
५ चैत भोजपुर । लामो समयको खडेरीपछि परेको हिउँदे बर्सातले भोजपुरका किसानमा उत्साह र खुसी छाएको छ । समयमै पानी नपर्दा बाली सुक्ने चिन्तामा रहेका किसान बर्सातसँगै राहत महसुस गर्न थालेका हुन् ।विशेषगरी गहुँ, मकै, आलु तथा विभिन्न तरकारी बालीका लागि यो बर्सात अत्यन्तै उपयोगी बनेको टेम्केमैयुङ–५ का स्थानीय किसान अडिबहादुर विष्टले बताउनुभयो । खडेरीका कारण हिउँदे बाली सुक्दै गएको अवस्थामा बर्सात भएपछि किसानमा नयाँ आशा पलाएको उहाँको भनाइ छ ।
‘लामो समयको खडेरीका कारण हिउँदे बाली सुक्ने अवस्थामा पुगेको थियो,’ उनले भने, ‘बर्सात भएपछि हामी किसान निकै खुसी भएका छौँ । अब बाली सप्रिन्छ भन्ने आशा बढेको छ ।’खेतबारीमा चिस्यान अभावका कारण ओइलिन थालेका बाली बर्सातपछि पुनः हरियाली देखिन थालेका छन् । यसले उत्पादनमा वृद्धि हुने अपेक्षा किसानले गरेका छन् । सिँचाइ सुविधा नपुगेका क्षेत्रका किसानका लागि त यो बर्सात झन् राहत बनेको छ ।
स्थानीय किसानका अनुसार बर्सातअघि माटो अत्यधिक सुक्खा हुँदा बालीको वृद्धि प्रक्रिया प्रभावित बनेको थियो ।तर, बर्सातले माटोमा आवश्यक चिस्यान उपलब्ध गराएपछि बालीको वृद्धि पुनः सक्रिय भएको छ । यसले उत्पादन मात्र नभई बालीको गुणस्तरमा समेत सुधार आउने विश्वास किसानले व्यक्त गरेका छन् । मकै छर्ने ‘सिजन’मा पानी परेपछि किसानलाई थप सहजता भएको छ ।