उदयपुरमा एक हजार हेक्टरमा रोपियो चैते धान
१८ चैत उदयपुर । जिल्लाका विभिन्न भागका एक हजार १०० हेक्टरमा चैते धान रोपिएको छ । जिल्ला कृषि ज्ञान केन्द्रका सूचना अधिकारी संगीता ज्ञवलीका अनुसार, जिल्लामा एक हजार ५०० हेक्टरमा हरेक वर्ष चैते धान रोपिने गरेको छ । बाँकी ४०० हेक्टरमा पनि यसै महिना रोपाइँ पूरा हुने देखिएको उनले बताइन् । “खेतमा धमाधम रोपाइँ भइरहेकाले बाँकी ४०० हेक्टरमा पनि रोपाइँ हुने देखेकी छु,” उनले भनिन् ।
जिल्लाका आठ पालिकामध्ये सबैभन्दा धेरै चैते धान उदयपुरगढी र रौतामाई गाउँपालिकामा भएको छ । ताप्ली गाउँपालिका, कटारी, त्रियुगा र चौदण्डीगढी नगरपालिकामा चैते धान रोपिने गरेको छ ।