अध्यक्ष ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई परिवारको जिम्मा लगाइयो
२६ चैत काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई परिवारको जिम्मा लगाइएको छ । बिहीबार (चैत २६) बिहान नेताद्वयलाई परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार, ओलीलाई काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालबाटै परिवारको जिम्मा लगाइएको छ । लेखकलाई महाराजगन्जस्थित नेपाल प्रहरीको दुई नम्बर गणबाट परिवारको जिम्मा लगाइएको उनले जानकारी दिए ।
“हामीले आवश्यक अनुसन्धान भएको बेला उपस्थित हुने सर्तमा परिवारको जिम्मा लगाएका हौँ,” उनले भने ।ओली र लेखकलाई यही चैत १४ गते भक्तपुरस्थित उनीहरूका निवासबाट प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको थियो । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा उनीहरूलाई पक्राउ गरिएको थियो ।