स्वार्थबाट माथि उठेर कम्युनिस्ट शक्तिहरू एकताबद्ध बनौँ – नारायणकाजी श्रेष्ठ


Capital Headline
प्रकाशित मिति : बुधबार, बैशाख २ २०८३
1.6K
SHARES

२ वैशाख काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले निजी स्वार्थबाट माथि उठेर गल्ती कमजोरी सच्याउँदै पार्टी पुनर्गठन गर्नुपर्ने बताएका छन्। निर्वाचनपछिको विकसित राष्ट्रिय परिस्थितिमा नेपाली कम्युनिस्ट शक्तिहरूले निराशा र पलायन हुन नहुने उनको भनाइ छ।

उनले भनेका छन्, ‘समग्र परिस्थितिको गम्भीर समीक्षा, निर्मम आत्मसमीक्षा, वस्तुनिष्ठ निष्कर्षसहित समग्र कम्युनिस्ट आन्दोलनको रूपान्तरण एवं पुनर्गठनको प्रक्रिया अघि बढाउने दृढ सङ्कल्प गर्नु जरुरी छ । नयाँ वर्षलाई सम्पूर्ण कम्युनिस्ट क्रान्तिकारीहरूले निजी स्वार्थबाट माथि उठेर गतकालका गल्ती कमजोरीहरू सच्याउँदै त्यस दिशामा अभिमुख हुने अवसर बनाउन सकौँ।’

राष्ट्रिय सार्वभौमिकता एवं स्वाधीनता र संविधान तथा लोकतन्त्रको रक्षाको लागि सम्पूर्ण देशभक्त र सच्चा लोकतन्त्रवादी शक्तिहरू आवश्यकता अनुसार सहकार्य र एकताको निम्ति तयार हुनुपर्ने बताएका छन्। उनले सामाजिक न्यायसहितको समृद्धि आजको प्रमुख राष्ट्रिय कार्यभार भएको औँल्याएका छन्। उनले अगाडि भनेका छन्, ‘हालै सम्पन्न निर्वाचनमा जनताको तर्फबाट सुशासन र रोजगारी मूल रहेको उक्त उद्देश्यलाई केन्द्रबिन्दुमा राखेर परिवर्तनको आकाङ्क्षालाई मतादेशमा अभिव्यक्त गरिएको छ । तसर्थ जनताको अपेक्षा अनुसार नयाँ वर्षमा वर्तमान सरकारलाई त्यस दिशामा परिणाममुखी कार्य गर्ने सफलता प्राप्त हुन सकोस्।’

सरकार गठनको केही हप्ता मात्र बितेको अवस्थामा शङ्काको लाभ दिएर सचेततापूर्वक सरकारको काम हेर्नु बाहेक अहिले नै धेरै टिप्पणी गर्नु उपयुक्त नहुने बताएका छन्। उनले थपेका छन्, ‘तर पनि लोकतन्त्रको महत्त्वपूर्ण अङ्ग रहेको सञ्चार माध्यमलाई कमजोर पार्ने, जुन वर्गको लोकतान्त्रिक अधिकारलाई कुण्ठित गर्ने वा विधि पद्धति तथा कानुनको शासनको उल्लङ्घनका केही घटनाहरूले नेपाली जनतालाई सशङ्कित र चिन्तित बनाइरहेको छ। राष्ट्रिय स्वाधीनताको रक्षा सहितका यी विषयहरूमा गम्भीर हुनु आवश्यक छ। सबैले ध्यान दिऔँ।’