हतारोमा कसैसँग एकता हुँदैन – अध्यक्ष ओली


Capital Headline
प्रकाशित मिति : सोमबार, बैशाख ७ २०८३
1.3K
SHARES

७ बैशाख काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले विगतमाझैँ हतारोमा कसैसँग एकता नहुने बताएका छन् । शनिबार अस्पतालबाट डिस्चार्ज भएका अध्यक्ष ओलीले निवासमा नेताहरूसँग छलफल गर्दै यस्तो बताएका हुन् । चैत १४ गते जेनजी जाँचबुझ आयोगको सिफारिस कार्यान्वयनका लागि भन्दै प्रहरीले उनलाई गिरफ्तार गरेको थियो । स्वास्थ्य जटिलताका कारण देखाउँदै उनी त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए ।

अस्पतालमा उनको पित्त थैलीको शल्यक्रिया गरिएको थियो । अध्यक्ष डिस्चार्ज भएपछि नेताहरू उनलाई भेट्न गुण्डुस्थित निवासमा पुगेका थिए । निवासमा उनलाई भेट्न पुगेका नेताहरूले नेकपासँगको एकताका विषयमा जिज्ञासा राखेका थिए । त्यसक्रममा उनले नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ स्वास्थ्यलाभको कामनाका लागि मात्रै अस्पताल पुगेको खुलाए ।”नेकपाका नेताहरूसँग पार्टी एकताबारे कुनै पनि कुरा भएकै छैन । पार्टी एकतै हुँदैन वा जसरी पनि एकता भइहाल्छ भन्ने दुवै कुरा गलत छन्,” अध्यक्ष ओलीको भनाइबारे निवास पुगेका नेता विशाल भट्टराईले भने ।

एमालेको सन्दर्भ र नीतिलाई पूर्ण स्वीकार गर्ने शक्तिसँग मात्रै एकता हुने ओलीले बताएका छन् । विगतमाझैँ सैद्धान्तिक वैचारिक, सांगठनिक एकरूपता बेगरको एकता अब नहुने ओलीले बताएका छन् ।

२०७५ जेठ ३ मा एमाले र माओवादी केन्द्रबीच एकता भएर नेपाल कम्युनिष्ट पार्टी नेकपा गठन भएको थियो । संसद् विघटन लगायतका विषयमा आन्तरिक संघर्ष चर्किँदै जाँदा नेकपाभित्र विभाजनको वातावरण बनिरहेको थियो ।२०७७ फागुन २३ मा सर्वोच्च अदालतले ऋषिराम कट्टेललाई नेकपाको आधिकारिकता दिएको थियो ।त्यस फैसलाका कारण एकताको ३३ महिनापछि माओवादी र  एमाले ब्युँतिएका थिए ।