कांग्रेस संसदीय दलको नेतामा अझै जुटेन सहमति
१२ वैशाख काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई संसदीय दलको नेता चयन गर्न सकस परेको छ। निर्वाचन प्रक्रिया स्थगित गरेर सहमतिमै दलको नेता चयन गर्ने प्रयास भइरहेपनि अहिलेसम्म कुरा मिलेको छैन।
हिजो बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सहमतिमै दलको नेता छान्नको लागि शीर्ष नेताहरूलाई जिम्मेवारी दिएको थियो।
दलको नेता चयन गर्नको लागि उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा समिति गठन गरेको थियो।समितिमा उपसभापति पुष्पा भुसाल, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरे र निर्वाचन समितिको संयोजक तथा सहमहामन्त्री प्रकाश रसाइली रहेका छन्।महामन्त्री प्रदीप पौडेलले सहमतिको लागि छलफल भइरहेको बताए।
उनले भने, ‘हामीले सहमतिबाटै गरौँ भनेर हिजोदेखि निरन्तर गृहकार्य गरिरहेका छौँ। सकेसम्म हाम्रो सहमतिकै प्रयास रहन्छ। नभए प्रक्रिया अघि बढाउँछ।’
उनले आज सहमति जुट्ने सम्भावना नरहेको भन्दै भोलिभन्दा पर नधकेल्ने बताए। दलको नेतामा कांग्रेस भीष्मराज आङ्देम्बे, अर्जुननरसिंह केसी, मोहन आचार्यको दाबी छ।
नेता केसीले आफ्नो नाममा सहमति जुटे मात्रै दलको नेता हुने बताइसकेका छन्। निर्वाचन भए नलड्ने उनको स्पष्ट सन्देश छ। पार्टीका पाका सांसद भएकाले केसीको नाममा सहमति जुटाउनुपर्ने मत बलियो छ। तर, त्यसको विपक्षमा उपसभापति विश्वप्रकाश शर्मा सार्वजनिक रूपमै उभिइसके।
केसी सभापति गगन थापाका ससुरा पनि हुन्, उनको नाममा सहमति जुटाउन अफ्यारो परेकाले थापाले प्रत्यक्ष निर्वाचित सांसद आचार्यलाई बनाउन चाहेको बताइन्छ। तर, उपसभापति शर्माले पार्टीभित्र एकताको सन्देश दिनुपर्ने भन्दै आङ्दाम्बेलाई बनाउनुपर्ने पक्षमा उभिएका छन्।
आङ्दाम्बे पूर्वसभापति शेरबहादुर देउवानिकट नेता मानिन्थे। तर पछिल्लो समय गगनप्रति नरम सुनिन थालेका छन्।
दलको नेतामा दाबी गरिरहेका नेता अर्जुननरसिंह केसीले आफ्नो दाबी स्वाभाविक रहेको बताए।उनले भने, ‘मेरो योगदानको आधारमा मैले दलको नेतामा दाबी गरेको हुँ। मेरो नाममा सहमति भए स्वीकार्छु तर निर्वाचन भए म लड्दिनँ भनिसकेको छु। हिजो वार्ता समितिका साथीहरू आउनुभएको थियो मैले त्यही भनेर पठाएको छु।’
उनले आफूलाई सभापति गगन थापाको ससुराको रूपमा मात्रै हेरिएको बताए। उनले थपे, ‘मैले राजनीति सुरु गर्दा गगनजी जन्मिनुभएको थिएन होला, तर उहाँको ससुरा भनेर प्रचार गरियो त्यसमा मेरो समर्थन छैन।’
उनले आफ्नो कारणले दलको नेता चयन प्रक्रियामा ढिलाइ नभएको जिकिर गरे।उनले भने, ‘मैले प्रस्ट भनिसकेको छु, सहमति जुटे गरौँ नभए प्रक्रियामा जाऔँ ढिलाइ गर्नुपर्ने आवश्यक छैन भनिसकेको छु, अब उहाँहरूले अन्तिम प्रयास गर्छु भन्नुभएको छ हेरौँ कसरी अघि बढ्छ।’
उनले प्रत्यक्ष निर्वाचित सांसदलाई नै दलको नेता बनाउने भए युवा कि महिलालाई अवसर दिनुपर्ने बताए।
त्यसो त दलको नेतामा आकाङ्क्षा गरिरहेका नेता भीष्मराज आङ्दाम्बेले आफूलाई कुनै समूहको लेबल नलगाउन आग्रह गरेका छन्।उनले आफू पार्टी सभापति गगन थापाको कार्यशैली र सोचअनुसार अघि बढ्न तयार रहेको बताए।
विशेष महाधिवेशनपछि नयाँ योजना र नयाँ नेतृत्वसहित अघि बढिरहेको नेपाली कांग्रेसलाई बलियो शक्तिका रूपमा स्थापित गर्न पार्टी सङ्गठन र संसद् दुवै क्षेत्रमा प्रखर भूमिका आवश्यक रहेको बताए।
सभापति थापाको नेतृत्वमा पार्टी सुदृढीकरणको अभियान चलिरहँदा संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्दै संसदीय दललाई थप सशक्त बनाउनु पर्ने उनको भनाइ छ।
उनले भनेका छन्, ‘अब पार्टीभित्र यो र उ पक्ष भन्ने अथवा यति र उति भागबन्डा भन्ने कुरा पुरानो कथा बनिसक्यो पार्टी सभापति गगन थापाको नेतृत्वमा म छु र अरू साथीहरू पनि हुनहुन्छ अहिलेको बेलामा जे निर्णय गर्दा पार्टीको नेतृत्व र सिङ्गो पार्टीको हित हुन्छ, त्यसमा हामी सबैको साथ रहन्छ, रहनुपर्छ म यसमा आफू प्रस्ट छु।’