सरकारले लोकतान्त्रिक मूल्य र संविधानको उपहास गर्यो – उपाध्यक्ष पौडेल
१६ बैशाख काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले वर्तमान सरकारका गतिविधिहरू लोकतान्त्रिक मूल्य–मान्यता र संवैधानिक मार्गदर्शनविपरीत रहेको बताएका छन् । सरकारका पछिल्ला कामकारबाहीले जनतामा निराशा पैदा गरेको भन्दै उनले एमालेको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका हुन् ।
बुधबार २७औँ यदु स्मृति दिवस तथा २४औँ यदु स्मृति पत्रकारिता पुरस्कार वितरण गर्दै उपाध्यक्ष पौडेलले ट्रेड युनियन अधिकार र विद्यार्थीको संगठित हुन पाउने अधिकारमाथि सरकारले प्रहार गरिरहेको आरोप लगाए ।सरकारले जनसरोकारका विषयहरूलाई नजरअन्दाज गरेको र जनताका समस्याप्रति चरम लापरबाही देखाएको उनको तर्क छ । सरकार सञ्चालनका क्रममा दुईवटा खम्बा– संविधान र लोकतान्त्रिक मूल्यलाई बिर्सन नहुनेमा उनले जोड दिए ।
“ट्रेड युनियन र विद्यार्थीहरूको संगठित अधिकार विश्वव्यापी रूपमा लोकतन्त्रवादी र कम्युनिस्ट दुवैले स्वीकार गरेको मान्य अभ्यास हो । तर वर्तमान सरकार यी अधिकारहरूको विरुद्धमा उभिनु विडम्बनापूर्ण छ । जनताबाट निर्वाचित सरकार सधैँ संविधानको मार्गदर्शनमा चल्नुपर्छ, तब मात्र देश सही दिशामा अगाडि बढ्न सक्छ,” उनले भने ।
पछिल्लो समय सरकारले संसद्लाई छलेर अध्यादेशमार्फत शासन चलाउन खोजेको भन्दै उनले ‘अध्यादेशको सिलसिला’ सुरु भएकोमा समेत आपत्ति प्रकट गरे ।