सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो – प्रचण्ड


Capital Headline
प्रकाशित मिति : बिहिबार, बैशाख १७ २०८३
1K
SHARES

१७ बैशाख काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाइसकेको संसद् रोकेर अध्यादेश ल्याउने सरकारको कदम लोकतन्त्रको खिलाफमा भएको बताएका छन् । रुकुम पश्चिमको मुसिकोटमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सदनलाई छलेर अध्यादेश ल्याउने असहज भएको बताए । उनले भने, ‘बोलाइसकेको सदनको अधिवेशनलाई रोकेर अध्यादेश ल्याएपछि सदन बोलाउने विधि अपनाइयो, त्यो लोकतन्त्रको खिलाफमा छ, लोकतन्त्रका विरुद्ध छ, संवैधानिक मान्यताका पनि विरुद्ध छ। यस्तो गल्ती नगर्न हामीले सरकारलाई सावधान पनि गराएका छौँ ।’

उनले अध्यादेश अब राष्ट्रपतिकहाँ पुगिसकेकाले के हुन्छ हेर्न बाँकी रहेको बताए । अलोकतान्त्रिक विधि अपनाउने कुराले संविधानको मर्ममाथि प्रहार गर्ने बताए । उनले थपे, ‘लोकतान्त्रिक तरिकाले अध्यादेश ल्याउने नै सकिँदैन भन्ने कुरा होइन, अध्यादेशको विशेष अवस्थामा आवश्यकता पर्छ । तर, आफैँले बोलाइसकेको सदन बैठकै नबसीकन त्यसलाई स्थगित गरेर अध्यादेश ल्याउने विधि गलत छ । संवैधानिक परिषद्मा आफ्नो पक्षमा मान्छे पार्ने उद्देश्यले ल्याइएको छ ।’

उनले सरकारले काठमाडौंबाट सुरू गरेको सुकुमबासी बस्ती हटाउने कार्य देशभर लैजान लागेको बताए ।उनले भने, ‘देशैभरि ५०औँ वर्षदेखि बसेका ठाउँहरूबाट पनि वैकल्पिक व्यवस्था नगरी, वास्तविक सुकुमबासी हो होइन भन्ने कुराको पनि निधो नगरीकन बल प्रयोगको तरिकाद्वारा डोजर लगाइयो । गरिब निमुखाहरूलाई आहत हुने किसिमले काम सरकारले गरेको छ, यो विल्कुल गलत छ ।’ उनले वास्तविक सुकुमबासीको यथार्थ स्थिति छानबिन गरेर वैकल्पिक व्यवस्थापछि समझदारीले हटाउनुपर्ने ठाउँमा सरकारले बल प्रयोग गरेको भन्दै असन्तुष्टि जनाए ।