सुर्खेतमा हुँदै ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’
३१ बैशाख सुर्खेत । कर्णाली प्रदेशको पर्यटन प्रवर्द्धन, लगानी आकर्षण तथा व्यावसायिक सहकार्य विस्तार गर्ने उद्देश्यले सुर्खेतमा पहिलोपटक ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ आयोजना गरिने भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपालिकाको संयुक्त आयोजना तथा होटेल व्यवसायी महासंघ कर्णाली प्रदेशको समन्वयमा आउँदो जेठ ९ देखि ११ गतेसम्म सम्मेलन गर्न लागिएको हो ।
बुधबार (वैशाख ३०) वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिका संयोजक तर्कबहादुर शाहीले कर्णाली प्रदेशलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन बजारसँग जोड्ने लक्ष्यसहित सम्मेलन आयोजना गरिएको बताए । सम्मेलन कर्णालीको पर्यटन सम्भावनालाई विश्वसामु चिनाउने महत्त्वपूर्ण अवसर हुने उनले उल्लेख गरे ।
सम्मेलनमा कर्णालीका छिमेकी प्रदेश लुम्बिनी र सुदूरपश्चिमका साथै भारतका उत्तर प्रदेश, उत्तराखण्ड र दिल्लीबाट समेत पर्यटन व्यवसायी, लगानीकर्ता, ट्राभल एजेन्सी, टुर अपरेटर, भारतीय सञ्चारमाध्यमका प्रतिनिधि, ट्राभल भ्लगर तथा पर्यटन क्षेत्रका विज्ञको सहभागिता रहने आयोजकले जनाएको छ ।
आयोजकका अनुसार, सम्मेलानमा बीएन्डबी बैठक, नेटवर्किङ, पर्यटन गन्तव्य प्रस्तुति, प्रोपर्टी भिजिट, फ्याम ट्रिप, प्राविधिक छलफल, प्यानल डिस्कसन तथा सांस्कृतिक कार्यक्रम सम्मेलनमा सञ्चालन गरिनेछ ।