रूसको मिसाइल र ड्रोन हमलाबाट युक्रेनमा १२ जनाको मृत्यु
१६ असार काठमाडौं । रूसले सोमबार युक्रेनका विभिन्न सहरमा मिसाइल र ड्रोन आक्रमण गर्दा कम्तीमा १२ जनाको मृत्यु भएको छ । ४० जना घाइते भएका छन् । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यी आक्रमणलाई भयानक भन्दै कडा शब्दमा निन्दा गरेका छन् । रूसले युक्रेनमाथि आक्रमण सुरु गरेको चार वर्ष भइसकेको छ ।
संयुक्त राष्ट्रसंघ (यूएन)का अनुसार युद्ध सुरु भएयता हालसम्म १६ हजारभन्दा बढी युक्रेनी सर्वसाधारणको मृत्यु भइसकेको छ । रूसले निरन्तर युक्रेनका ऊर्जा तथा अन्य आधारभूत संरचनामाथि आक्रमण गर्दै नागरिकहरूको मनोबल कमजोर पार्ने प्रयास गरिरहेको छ ।
रूसी मिसाइल आक्रमणमा नीप्रो सहरको पूर्वाधारमा ठूलो क्षति पुगेको छ । घटनामा ६ जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् । जापोरिज्जियामा रूसी ड्रोन एउटा यात्रुवाहक बसमा ठोक्किँदा एक बालकसहित तीनजनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् ।
सुमी सहरमा ड्रोन आक्रमणमा एक वृद्ध महिला र एक पुरुषको मृत्यु भएको छ । यसैगरी, खार्किभमा दिउँसो भएको आक्रमणमा एकजनाको मृत्यु भएको छ । पाँचजना घाइते भएका छन् । यसका अतिरिक्त युक्रेनका अन्य ६ क्षेत्रमा पनि आक्रमण भएको स्थानीय अधिकारीहरूले जनाएका छन् ।
रूसी आक्रमणपछि युक्रेनका आठ क्षेत्रमा विद्युत् आपूर्ति पूर्ण रूपमा अवरुद्ध भएको छ । अत्यधिक गर्मीका कारण विद्युत् माग बढिरहेका बेला ऊर्जा पूर्वाधारमा भएको क्षतिले संकट झन् गम्भीर बनेको छ ।
राष्ट्रपति जेलेन्स्कीले युरोपेली देशहरूलाई युक्रेनको हवाई प्रतिरक्षा क्षमता थप सुदृढ बनाउन आग्रह गरेका छन् । उनले भने, “रूसका ब्यालिस्टिक मिसाइल रोक्न युरोपले आफ्नो सुरक्षा प्रणाली अझ बलियो बनाउनुपर्छ । नागरिकलाई यस्ता आक्रमणबाट जोगाउन हामीलाई थप एन्टी–ब्यालिस्टिक क्षमताको आवश्यकता छ ।”