हिमपहिरोमा ज्यान गुमाएका निर्मल पुर्जाको शव फेला
१७ साउन पाकिस्तान । उत्तरी पाकिस्तानमा यो साता आएको शक्तिशाली हिमपहिरोमा परी आफ्ना अन्य नौ जना टोली सदस्यहरूसँगै ज्यान गुमाएका विश्वविख्यात आरोही निर्मल पुर्जा (निम्स दाइ) को शव उद्धारकर्ताहरूले फेला पारेका छन् । अल्पाइन क्लब अफ पाकिस्तानले आइतबार यसको पुष्टि गरेको हो । पुर्जासँगै, वाङ झोङ, निमा शेर्पा, किली पेम्बा शेर्पा (किलु) को शव फेला परेको अल्पाइन क्लबले सामाजिक सञ्जालमा राखेको छ । ‘स्थल उद्धार टोली ब्रोड पिकको लगभग ५,७०० मिटरको उचाइमा निम्स दाइसम्म पुगेको छ, एउटा यस्तो हिमाल जसलाई उहाँले असाध्यै माया गर्नुहुन्थ्यो, र त्यही हिमालले आज उहाँलाई हामीबाट खोसेको छ,’ अल्पाइन क्लबले सामाजिक सञ्जालमा लेखेको छ ।
अल्पाइन क्लबका महासचिव एयाज सिग्रीले एएफपीसँग कुरा गर्दै खराब मौसमका कारण उद्धार कार्य कठिन भए पनि उच्च उचाइमा सञ्चालित अभियानमार्फत पुर्जा र अन्य तीन जनाको शव संकलन गरिएको जानकारी दिएका छन् । गत बिहीबार आएको विनाशकारी हिमपहिरोमा परेर ४३ वर्षीय पुर्जाको नेतृत्वमा रहेको १० सदस्यीय अन्तर्राष्ट्रिय आरोहण दलसँगको सम्पर्क विच्छेद भएको थियो । पुर्जाको आरोहण कम्पनीले शनिबार नै टोलीका कुनै पनि सदस्य जीवित नरहेको पुष्टि गरिसकेको थियो ।
क्षेत्रीय अधिकारीहरूका अनुसार शुक्रबार फेला पारिएका तीन जना आरोहीहरू–एक ओमानी महिला, एक नेपाली पुरुष र एक अमेरिकी महिलाको शवलाई हवाइमार्फत स्कार्दु सहर लगिसकिएको छ । अल्पाइन क्लबका अनुसार सो टोलीमा एक चिनियाँ नागरिक र अन्य केही नेपाली नागरिकहरू पनि सहभागी थिए । यस दुखद घटनाले विश्वभरको पर्वतारोहण समुदाय र विशेष गरी नेपालमा गहिरो शोक छाएको छ । विश्वभरका विभिन्न नेताहरूले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।