फिफाले समर्थन जनाउन आर्थिक प्रलोभन र ‘ब्ल्याकमेल’ गरेको जोर्डनको आरोप


Capital Headline
प्रकाशित मिति : बुधबार, साउन २० २०८३
513
SHARES

२० श्रावण काठमाडौं । जोर्डन फुटबल संघ (जेएफए)का अध्यक्ष अली बिन हुसेनले फिफा अध्यक्ष जियानी इन्फान्टिनोले आफूलाई आर्थिक प्रलोभन देखाएको आरोप लगाएका छन् । पछिल्लो समय विश्वकपको हिस्सेदारी बिक्री गर्ने प्रस्ताव अघि सारेसँगै उनको चौतर्फी आलोचना भएको थियो ।  उनले आलोचनापछि उक्त प्रस्ताव फिर्ता लिए पनि क्षेत्रीय संघ र थुप्रै देशले फिफाविरुद्ध असमर्थन जनाएका छन् । एसियाली फुटबल महासंघ (एएफसी), युरोपेली फुटबल महासंघ (यूइएफए) तथा उत्तर, मध्य, अमेरिका र क्यारेबियन फुटबल महासंघ (कोन्काकाफ)ले उनलाई पदबाट नै हटाउन एकजुट भएर दबाब दिन थालेका छन् ।

यही दबाबबीच सार्वजनिक रूपमा फिफाको चर्काे आलोचना गर्दै मंगलबार अध्यक्ष हुसेनले इन्फान्टिनोले विश्वकपमा आफ्नो प्रस्तावमाथि समर्थन जनाउन आर्थिक प्रलोभन देखाएको आरोप लगाएका हुन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्सले खुलाएअनुसार फिफाले उनलाई विश्वकपका क्रममा मौखिक रूपमा ‘अफर’ गरेका थिए । अफर गर्दा इन्फान्टिनोले लामो समयदेखि जोर्डनलाई विश्व फुटबलको यो सर्वाेच्च निकायले दिँदै आएको बजेट र सहयोग वृद्धि गराउने बताएका थिए ।

“जोर्डन नैतिक पक्षलाई लिएर धेरै संवेदनशील छ । हामीले यसअघि पनि इन्फान्टिनोलाई समर्थन जनाएका थिएनौँ र अहिले गर्ने पनि छैनौँ । उनले धेरै समय ब्ल्याकमेल गर्दै प्रलोभन देखाए । तर, हामीले स्वीकारेनाँै,” सामाजिक सञ्जाल एक्समा हुसेनले सार्वजनिक गरेका छन् ।आलोचना गर्ने क्रममा हुसेनले फिफाले जोर्डनलाई सानो राष्ट्र बताउँदै कम बजेट उपलब्ध गराउँदै आएको तर्क राखे । प्रलोभनको कुरा खुलाउँदै हुसेनले फिफा विश्वकप २०२६ मा आफ्ना नागरिहरूलाई भिसा नदिएको र तोकिएकोभन्दा बढी टिकट मूल्य तिर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना गरेको आरोप लगाए ।

साथै, उनले विश्वकप खेल्दा अमेरिकी सरकारलाई धेरै राजस्व तिर्नुपरेको भन्दै असन्तुष्टि पोखे । त्यसैगरी, सन् २०२५ मा कतारमा सम्पन्न अरब कप २०२५ को फाइनल पुगेबापतको रकम हालसम्म प्राप्त नभएको गुनासो गरे ।  “विश्वकपमा अमेरिकालाई हामीले धेरै राजस्व तिर्नुपर्‍यो । वास्तवमा यो रकम खेलाडी र स्टाफहरूमा बाँडिनुपर्थ्यो,” हुसेनको भनाइलाई उद्धृत गर्दै रोयटर्सले उल्लेख गरेको छ । जोर्डनले पहिलोपटक हालै सम्पन्न विश्वकप खेलेको थियो ।