हाम्रा सर्वोच्च नेता जीवित छन् – इरानका राष्ट्रपति


Capital Headline
प्रकाशित मिति : आइतबार, भाद्र २८ २०८३
1.6K
SHARES

२८ भदौ काठमाडौं । हाल भारतमा रहेका इरानका राष्ट्रपति मसुद पेजेस्कियानले देशका सर्वोच्च नेता मोज्तबा खामेनी जीवित रहेको बताएका छन्। शनिबारदेखि दिल्लीमा जारी ब्रिक्स शिखर सम्मेलनमा सहभागी इरानका राष्ट्रपति पेजेस्कियानले आजतकसँगको अन्तर्वार्तामा आफ्ना सर्वोच्च नेता खमेनीबारे बताएका हुन्।  अन्तर्वार्तामा पेजेस्कियानलाई सोधिएको छ : इरानका सर्वोच्च नेता मोज्तबा खामेनी कहाँ छन् र कस्तो अवस्थामा छन्?

जवाफमा उनले भनेका छन्, ‘धन्यवाद! हाम्रा सर्वोच्च नेता जीवित छन् र पहिलेजस्तै प्रणालीभित्र काम गरिरहेका छन्। शत्रुले उनको सही ठेगाना पत्ता लगाउन सकेका छैनन्, त्यसैले विभिन्न अनुमान फैलाइरहेका छन्। शत्रुले हाम्रा नयाँ सर्वोच्च नेतालाई पनि त्यस्तै गर्न खोजिरहेको छन्, जस्तो अघिल्लो सर्वोच्च नेतालाई गरेका थिए।’

उनले थपे, ‘अमेरिका र इजरायलले एक जना मानिसको सम्पूर्ण परिवारलाई मार्छन्, भवन ध्वस्त पार्छन् र त्यसपछि उनीहरू आतंकवादी भएको दाबी गर्छन्। यो हामी बस्ने संसारमा अपराध गर्ने नयाँ तरिका हो।’इरानका वर्तमान सर्वोच्च नेता मोज्तबा खामेनी पदभार ग्रहण गरेको ६ महिना भइसक्दा पनि सार्वजनिक रूपमा देखा परेका छैनन्। यद्यपि उनका लिखित सन्देश अन्य व्यक्तिमार्फत सञ्चारमाध्यमबाट सार्वजनिक भइरहेका छन्।

भारतको राजधानी दिल्लीमा शनिबारदेखि अठारौँ ब्रिक्स शिखर सम्मेलन जारी छ। जसमा इरानका राष्ट्रपति पेजेस्कियानसहित चीनका राष्ट्रपति सी चिनफिङ, रुसका राष्ट्रपति भ्लादिमिर पुटिनहरू पनि छन्। ब्रिक्स सम्मेलनको आज (आइतबार) अन्तिम दिन हो। आज खुला बैठक (ओपन मिटिङ) आयोजना गरिनेछ, जसमा सदस्य देशका नेता र अन्य आमन्त्रित देशका प्रमुख सहभागी हुनेछन्।

ब्रिक्स सम्मेलनको पहिलो दिन शनिबार सदस्य देशहरूले नयाँ दिल्ली घोषणापत्र अनुमोदन गरेका छन्।  जारी घोषणापत्रमा रुस र चीनलगायत ब्रिक्स देशहरूले पहलगाम आतंकवादी हमलाको निन्दा गरेका छन्। उनीहरूले आतंककारीहरूलाई आश्रय दिनेहरूविरुद्ध संयुक्त रूपमा कारबाही गर्ने बताएका छन्।

ब्रिक्स नयाँ दिल्ली घोषणापत्रका १० प्रमुख बुँदा

पहलगाम आतंकवादी आक्रमणको निन्दा: अप्रिल २२, २०२५ मा भएको आक्रमणको कडा निन्दा, २६ जनाको मृत्यु भएको उल्लेख गर्दै।

आतंकवादविरुद्ध कडा अडान: आतंकवादका सबै रूप र कारणको निन्दा।

धर्मलाई आतंकवादसँग नजोड्ने: आतंकवादलाई कुनै पनि धर्म, राष्ट्रियता वा समुदायसँग जोड्ने कुराको विरोध।

सीमापार आतंकवादविरुद्ध कारबाही: आतंकवाद, यसको कोष र आतंकवादीहरूलाई आश्रय दिनेहरूविरुद्ध संयुक्त कारबाहीमा जोड।

आतंकवादीहरूलाई जवाफदेही बनाउने: आतंकवादी र आतंकवादी संगठनविरुद्ध सामूहिक कारबाहीको आह्वान।

संयुक्त राष्ट्रसंघको आतंकवादविरोधी सन्धि चाँडै बनाउने: अन्तर्राष्ट्रिय आतंकवादसम्बन्धी प्रस्तावित सन्धि चाँडै अपनाउन माग।

ब्रिक्सका मुख्य सिद्धान्त बलियो रहने: पारस्परिक सम्मान, सार्वभौम समानता, एकता र सहमतिमा आधारित निर्णयहरूमा जोड।

एकपक्षीय भन्सार शुल्कको निन्दा: एकपक्षीय भन्सार शुल्क र व्यापार प्रतिबन्धहरूबारे चिन्ता व्यक्त गर्दै त्यस्ता कदम डब्ल्यूएचओका नियमअनुसार हुनुपर्ने।

आणविक खतरा: आणविक हतियार प्रयोगको खतरा र बढ्दो विश्वव्यापी तनावप्रति चिन्ता व्यक्त।

भारतको अध्यक्षताको प्रशंसा: ब्रिक्स देशहरूबाट भारतको अध्यक्षतामा भएको ब्रिक्स प्लस र आउटरिच संवादको प्रशंसा।

ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो। सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए। सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको हो।

हाल ब्रिक्समा रुस, चीन, भारत, ब्राजिल, दक्षिण अफ्रिका, इजिप्ट, इथियोपिया, इन्डोनेसिया, इरान, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स गरी ११ पूर्ण सदस्य छन्।