यत्तिकै ढल्दिनँ , छाड्दिनँ – अध्यक्ष ओली


Capital Headline
प्रकाशित मिति : शनिबार, असोज ३ २०८३
608
SHARES

३ असोज काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटाउने प्रयास भइरहेको भए पनि त्यस्ता प्रयास सफल नहुने बताएका छन् ।संविधान दिवसका अवसरमा पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा ओलीले आफू एमालेभित्र १० वटा महाभारत लडेर यहाँसम्म आइपुगेको भन्दै अहिलेको प्रयासबाट आफू नढल्ने बताएका हुन् ।

उनले भने, ‘केपी ओली मैदानमा छ, अमरसिंह थापा मेरै उमेरमा युद्धको मैदानमा थिए, मैले त तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ ।’महाभारतमा जटिल अवस्थामा भिष्मपितामह ढलेको प्रसङ्ग उल्लेख गर्दै ओलीले आफू त्यसरी ढल्ने अवस्थामा नरहेको बताए ।
उनले आफू छ दशकदेखि एमालेमा रहेको उल्लेख गर्दै पार्टीमाथि सबैतिरबाट हमला भइरहेको र नयाँ पार्टी बन्ने हल्ला फैलाइएको बताए ।

अध्यक्ष र महासचिवसमेत बाँडफाँट भएको भन्ने समाचारहरू झुटो भएको उनको दाबी थियो । ओलीले असोज ६ र ७ गते बस्ने केन्द्रीय समिति बैठकपछि पार्टी एकता र आगामी कामको संकल्पसहित बाहिरिने बताए ।

‘पार्टीको एकता र गर्नुपर्ने कामको संकल्पसहित असोज ६ र ७ गतेको केन्द्रीय समिति बैठकबाट बाहिर निस्कनेछौँ, सबै हल्लाहरू खण्डन हुनेछ’, उनले भने ।

पार्टी फुटाउन चाहनेहरूको प्रयास सफल नहुने दाबी गर्दै ओलीले कुन्ती मुक्तानको गीतसमेत उल्लेख गरे । ‘एमाले आफ्नो बाटो हिँड्छ, खुट्टा तान्दै गर, म यत्तिकै यहाँ आइपुगेको होइन’, उनले भने ।