स्थानीय प्रशासनसँगको समन्वयमा उद्धार र राहतमा जुट्न प्रचण्डको निर्देशन


Capital Headline
प्रकाशित मिति : बुधबार, भाद्र १० २०८३
1.7K
SHARES

१० भदौ काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रसुवाको बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत तथा मानवीय सेवामा जुट्न पार्टी पंक्तिलाई निर्देशन दिएका छन् ।

रसुवाको भोटेकोसी नदीमा बुधबार बिहान तिब्बततर्फबाट ठूलो बाढी आएपछि प्रचण्डले स्थानीय प्रशासनसँग समन्वय गरी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका काममा जुट्न पार्टी नेता–कार्यकर्तालाई निर्देशन दिएका हुन् ।

बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका नदी तटीय क्षेत्रमा जोखिम बढ्न सक्ने भन्दै उनले सबै नागरिकलाई उच्च सतर्कता अपनाउन, सुरक्षित स्थानमा रहन तथा स्थानीय प्रशासन र सुरक्षा निकायको निर्देशन पालना गर्न अपिल गरेका छन् ।

विपद्को यस घडीमा नागरिकको जीवनरक्षा पहिलो दायित्व भएको भन्दै प्रचण्डले संघ, प्रदेश र स्थानीय सरकार, सुरक्षा निकाय, राजनीतिक दल, नागरिक समाज तथा आम नागरिक एकजुट भएर उद्धार, राहत र मानवीय सहयोगका कामलाई प्रभावकारी बनाउन आग्रह गरेका छन् ।