एमाले नेताहरू बल्थलीको होटलमा


Capital Headline
प्रकाशित मिति : आइतबार, भाद्र २८ २०८३
209
SHARES

२८ भदौ धुलिखेल । नेकपा एमालेका केन्द्रीय नेताहरू शनिबार बेलुकी काभ्रे पुगेका छन् । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी कार्यदलको आवासीय बैठकका निम्ति उनीहरू आएका हुन् ।केन्द्रीय सदस्य अशोककुमार ब्याञ्जुका अनुसार उनीहरू पनौती नगरपालिका ११, बल्थलीस्थित एक होटलमा बसेका छन् । पहिले धुलिखेलमा बस्ने योजनाका साथ काभ्रे पुगेका एमाले नेताहरूले अकस्मात् योजना परिवर्तन गरेर बल्थली जाने निर्णय गरेका हुन् ।

बसोबासको सम्पूर्ण व्यवस्थापन केन्द्रीय कार्यालयबाट सचिव डा. भीष्म अधिकारीले गरेका कारण ब्याञ्जुले होटलको नाम थाहा नभएको बताए । डा. अधिकारीलाई बैठकस्थलबारे जिज्ञासा राख्दा ठाउँ गोप्य भनिएका कारण भन्न नमिल्ने बताए ।

फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछि पार्टी नेतृत्व र कार्यशैलीबारे पुनर्विचार गर्नुपर्ने आवश्यकता औंल्याउँदै एमालेले बैशाखमा उपाध्यक्ष रामबहादुर थापा (बादल) को संयोजकत्वमा निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल गठन गरेको थियोे ।

कार्यदलको असार २५ मा सम्पन्न बैठकले उपाध्यक्ष बादल र महासचिव शंकर पोखरेललाई प्रतिवेदन लेखनको जिम्मा दिएको थियोे । तर, प्रतिवेदनमा अध्यक्ष केपी शर्मा ओलीकै बहिर्गमनको विषय उल्लेख भएपछि ओलीले आफू पक्षका नेतालाई उक्त प्रतिवेदन पुनर्लेखनको जिम्मेवारी दिएका थिए । शुक्रबार प्रतिवेदनबारे छलफल गरी पारित गर्न पार्टी केन्द्रीय कार्यालय च्यासलमा कार्यदलको बैठक बसेको थियोे ।

बैठकमा महासचिव पोखरेलले तयार पारेकोसँगै अर्को प्रतिवेदन पनि पेश भएको थियो । त्यसपछि उत्पन्न जटिलता फुकाउँदै शनिबार बेलुकी पुनः बैठक बस्ने गरी शुक्रबारको बैठक सकिएको थियो । शनिबार पनि छलफल गरेर टुंगोमा पुग्न नसकिने भएपछि नेताहरू काभ्रेमा आवासीय बैठकका निम्ति आएको एक एमाले नेताले बताए ।

कार्यदलमा उपाध्यक्षहरू विष्णुप्रसाद पौडेल र पृथ्वीसुब्बा गुरुङ, महासचिव शंकर पोखरेल, उपमहासचिव लेखराज भट्ट, सचिवहरू छविलाल विश्वकर्मा, पद्मा अर्याल, भानुभक्त ढकालसहित ९ वटै प्रदेशका इन्चार्ज सदस्य छन्। एमालेले ७ भौगोलिक प्रदेशसहित राजधानी, सम्पर्क मञ्च, केन्द्रीय आयोग, विभाग, सल्लाहकार परिषद्, प्रवास र जनसंगठनलगायतका निकायमा छलफल गरी सुझाव संकलन गरेको थियो ।

जेठ ३० गते शुरु भएको सुझाव संकलन असार २३ मा सकिएपछि महासचिव पोखरेलले प्रतिवेदन तयार पारेका हुन् । प्रतिवेदन पारित गर्नुपर्ने बैठकमा अध्यक्ष ओलीका तर्फबाट अर्को प्रतिवेदन पनि आएका कारण सोही जटिलतालाई बल्थलीको आवासीय बैठकले हल गर्ने भएको हो । बैठक आइतबार दिनभरि बस्ने र निष्कर्षमा नपुगे आइतबारको रात पनि त्यहीँ बिताउने मनस्थितिमा एमाले नेताहरू छन् ।