नेकपा र नेपाल कम्युनिस्ट पार्टीबीच एकता


Capital Headline
प्रकाशित मिति : मंगलबार, कार्तिक १८ २०८३
76
SHARES

१७ कार्तिक काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र नेपाल कम्युनिस्ट पार्टीबीच एकता भएको छ।मंगलबार नेकपा केन्द्रीय कार्यालय, पेरिसडाँडामा आयोजित कार्यक्रममा नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा सहसंयोजक माधवकुमार नेपाल र नेपाल कम्युनिस्ट पार्टीकी महासचिव उमा भुजेलले सहमति पत्रमा हस्ताक्षर गरेका छन्।

दुवै दलबीच भएको एकताअनुसार, अब पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ रहनेछ। त्यस्तै, चुनाव चिह्न पाँचकुने तारा हुनेछ। पेरिसडाँडामा आयोजित एकता घोषणा सभामा संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, राष्ट्रिय स्वाधीनताको रक्षा, सुशासन, सामाजिक न्याय तथा आर्थिक–सामाजिक रूपान्तरण गर्दै समाजवादी क्रान्तिको लक्ष्य प्राप्त गर्ने उद्देश्यसहित दुई पार्टीले एकता प्रक्रिया अघि बढाउने सहमति गरेको जनाएका छन्।

सहमति पत्रमा पार्टीको मार्गनिर्देशक सिद्धान्त मार्क्सवाद–लेनिनवाद हुने र नेपाली क्रान्तिको कार्यक्रम नेपाली विशेषताको वैज्ञानिक समाजवाद रहने जनाइएको छ। एकता सहमतिअनुसार आगामी स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि पार्टीको एकता राष्ट्रिय महाधिवेशन आयोजना गरिने भएको छ।

केन्द्रीय समिति, केन्द्रीय कार्यसमिति, केन्द्रीय सचिवालयलगायत अन्य केन्द्रीय निकाय तथा सबै तहका पार्टी समिति र जनसंगठनमा सहमतिका आधारमा संगठनात्मक समायोजन गरिने सहमतिपत्रमा उल्लेख छ।