आर्मीको विजयी सुरुआत, लुम्बिनी ३–० ले पराजित


Capital Headline
प्रकाशित मिति : बुधबार, मंसिर १० २०८३
342
SHARES

९ मंसिर सुर्खेत ।  दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा त्रिभुवन आर्मी क्लबले विजयी सुरुआत गरेको छ । प्रतियोगिताको दोस्रो दिन बुधबार भएको पहिलो खेलमा आर्मीले लुम्बिनी प्रदेशलाई ३–० गोलअन्तरले पराजित गरेको हो ।सुर्खेतस्थित प्रादेशिक रंगशालामामा भएको खेलमा आर्मीले पहिलो हाफमा एक गोलको अग्रता बनाएको थियो । आर्मीका भरत खवासले खेलको २३औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

जर्सी नम्बर २१ मा मैदान उत्रिएका खवासको गोलसँगै पहिलो हाफ आर्मीले १–० को अग्रतामा टुंग्याएको थियो ।दोस्रो हाफमा आर्मीले थप दुई गोल गर्‍यो । खेलको ५२औँ मिनेटमा जर्सी नम्बर १० का लाखिम लिम्बूले गोल गर्दै आर्मीको अग्रता दोब्बर बनाए । त्यसको १२ मिनेटपछि ६४औँ मिनेटमा लुम्बिनी प्रदेशका जर्सी नम्बर ४ का विकास लिम्बूले बल क्लियर गर्ने क्रममा आफ्नै पोस्टमा गोल गरेपछि आर्मीको जित ३–० ले सुनिश्चित भएको थियो ।

प्रतिस्पर्धात्मक खेलमा लुम्बिनी प्रदेशका फागुराम थारुले पहेलो कार्ड पाएका थिए । म्याच अफिसर वीरेन्द्र पाण्डेका अनुसार खेलमा थारुलाई पहिलो कार्ड देखाइएको थियो । दोस्रो दिनको दोस्रो खेलमा बुधबार दिउँसो २ः३० बजे कोसी प्रदेश र वाग्मती प्रदेशबीच प्रतिस्पर्धा हुँदै छ ।