सरकारको गैरकानुनी कामले हद नाघ्यो, अब प्रतिरोध गर्छौं – सभापति थापा


Capital Headline
प्रकाशित मिति : आइतबार, कार्तिक १६ २०८३
361
SHARES

१५ कात्तिक काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारको गैरकानुनी कामले हद नाघेको आरोप लगाएका छन्।पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो आरोप लगाएका हुन्। उनले सञ्चारमाध्यममा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटना गम्भीर आपत्तिजक भएको बताए।  प्रेस स्वतन्त्रता, नागरिक अधिकार र लोकतान्त्रिक मूल्य–मान्यतामाथि हस्तक्षेप गर्ने प्रवृत्ति सामान्य नभएको उनको भनाई छ। कांग्रेसले सरकारलाई आवश्यक पर्दा सहयोग गर्ने र राष्ट्रिय संकटका बेला सरकारसँगै उभिने गरेपनि लोकतन्त्र र नागरिक अधिकारको सवालमा भने सरकारको गलत कदमको प्रतिवाद गर्ने स्पष्ट पारे।

समाचार प्रकाशित भएको विषयलाई लिएर प्रहरी सञ्चारमाध्यमका कार्यालयमा प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनाले शाही शासनकालमा मिडिया हाउसमा सुरक्षाकर्मी प्रवेश गरेको घटनाको स्मरण गराएको उनको भनाई छ। उनले नागरिक दबाबपछि पक्राउ परेका पत्रकारहरु छुटेपनि यस घटनालाई केही पत्रकार पक्राउ परेको विषयमा मात्र सिमित गर्न नहुने बताए। यसले सरकारले राज्य, आफ्नो अधिकार, नागरिकको मौलिक हक, अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रतालाई कसरी बुझिरहेको छ भन्ने गम्भीर प्रश्न उठाएको उनको भनाइ थियो।

सभापति थापाले प्रहरी राजनीतिक तथा प्रशासनिक नेतृत्वको निर्देशनबिना सञ्चारमाध्यमका कार्यालयमा प्रवेश गरेको भन्नेमा विश्वास गर्न कठिन रहेको टिप्पणी गरे। सरकारको कार्यशैलीमा देखिएको प्रवृत्तिप्रति नागरिक समाज, सञ्चारमाध्यम र राजनीतिक दलहरूलाई सचेत हुन उनले आग्रह पनि गरे।सभापति थापाले भने, ‘केही समाचारहरू प्रकाशित भएको आधारमा प्रहरी केही मिडिया हाउसहरुमा प्रवेश गरेर पत्रकारहरुलाई गिरफ्तार गरेको हामीले देख्यौं। यो घटनाले हामी सबैलाई केही वर्ष अगाडिको एउटा अप्रिय घटनाको याद दिलायो, शाही कालको याद दिलायो, जतिखेर मिडिया हाउसमा सुरक्षाकर्मीहरु प्रवेश गर्नुभएको थियो। यो घटना पछाडि विरोध भयो, प्रश्नहरु उठ्यो र त्यस पछाडि पत्रकार साथीहरु रिहाइ हुनुभयो। केही साथीहरु पक्राउ पर्नुभयो, छुट्नुभयो, सकियो अब? यहाँ सकिँदैन र सकिनु हुँदैन भन्ने नेपाली कांग्रेसको धारणा हो।’

उनले थपे, ‘हामी देशभरिका नागरिक समाजलाई भन्न चाहन्छौं, राजनीतिक दलहरुलाई भन्न चाहन्छौं, सबैलाई भन्न चाहन्छौं कि यसलाई सामान्यीकरण नगरौं। यो प्रवृत्ति जसरी देखिएको छ, यसले अब हद नाघेको छ। यसले हद नाघ्यो।’उनले सरकारको अधिकारको प्रयोग कानुनी सीमाभित्र हुनुपर्नेमा जोड दिए। काँग्रेसले लोकतन्त्र, नागरिक अधिकार र प्रेस स्वतन्त्रताका विषयमा सरकारलाई निरन्तर प्रश्न गर्ने तथा आवश्यक परे प्रतिरोधसमेत गर्ने उनको भनाई छ।

सभापति थापाले भने, ‘जहाँ साथ दिनुपर्ने दिन्छौं, जहाँ सहयोग गर्नुपर्ने गर्छौं। तर जहाँ डेमोक्रेसीको कुरा हुन्छ, लोकतन्त्रको कुरा हुन्छ, नागरिकको अधिकारको कुरा हुन्छ, जनताको मौलिक हकको कुरा हुन्छ र यी विषयहरुका सन्दर्भमा भने सरकारले सीमा नाघ्छ भने त्यो बेलामा फेरि हामी चुप बस्दैनौं। हामी प्रश्न गर्छौं। हामी हामी उपयुक्त नीतिको पैरवी गर्छौं। र हामी आवश्यकता पर्यो भने प्रतिवाद र प्रतिरोध पनि गर्छौं। आज त्यस्तै परिस्थिति आएको छ।’