मुलुक गम्भीर संकटतर्फ उन्मुखको संकेत – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई


Capital Headline
प्रकाशित मिति : आइतबार, कार्तिक १६ २०८३
171
SHARES

१५ कात्तिक काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राज्यका प्रमुख अंगहरूमा देखिएको अस्तव्यस्तताले मुलुक गम्भीर संकटतर्फ उन्मुख भइरहेको संकेत गरेको बताएका छन् । देशमा बढ्दो भूराजनीतिक चलखेल, सत्ता र प्रतिपक्ष दलभित्र चर्कंदो अन्तरसंघर्ष तथा राज्यका प्रमुख अंगहरूमा देखिएको अस्तव्यस्तताले मुलुक गम्भीर संकटतर्फ उन्मुख भइरहेको संकेत गरेका उनको भनाइ छ ।

न्यायालय, प्रशासन, प्रहरीलगायत राज्यका प्रमुख अंगहरूमा अस्तव्यस्तता बढिरहेको आइतबार (कात्तिक १५) उनले सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेका छन् । कुनै पनि बहानामा अस्थिरता र उथलपुथल निम्त्याउन नहुनेमा उनले जोड दिएका छन् ।

उनले अर्थतन्त्रको निरन्तर ओरालो यात्रा, प्राकृतिक प्रकोपको बढ्दो भार र युवाको विदेश पलायनले पनि देशको अवस्था चुनौतीपूर्ण बन्दै गएको बताएका छन् । सार्वजनिक सञ्चार क्षेत्र र नागरिक वृत्तमा निराशा चुलिँदै गएको उनको भनाइ छ ।

“अब कुनै पनि बहानामा देशले अस्थिरता र उथलपुथल थेग्न सक्दै सक्दैन,” उनले लेखेका छन् ।नेता भट्टराईले सबैलाई आ–आफ्नो क्षेत्रबाट जिम्मेवार बन्न आग्रह गरेका छन् । सकारात्मक योगदान गर्न नसके पनि नकारात्मक गतिविधि नगर्न उनको अपिल छ ।“सक्छौँ, सकारात्मक योगदान गरौँ । सक्दैनौँ, नकारात्मक काम नगरौँ,” उनले भनेका छन् ।