निर्वाचनमा एउटा र व्यवहारमा अर्को कुरा गर्न पाइँदैन – महामन्त्री पौडेल


Capital Headline
प्रकाशित मिति : बिहिबार, मंसिर ११ २०८३
19
SHARES

१० मंसिर काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचनमा गरेको बाचाअनुसार सरकारले काम नगरेको बताएका छन् । धादिङ–२ को क्षेत्रीय कार्यसमितिले आयोजना गरेको कार्यक्रममा पौडेलले निर्वाचनअघि एउटा कुरा गरेर निर्वाचनपछि त्यसविपरीत व्यवहार गर्न नहुने बताए ।

“निर्वाचनमा एउटा कुरा बोलेर निर्वाचनमा गइसकेपछि फेरि अर्को व्यवहार गर्न पाइँदैन,” पौडेलले भने, “लोकतन्त्रलाई असुरक्षित गर्ने, लोकतन्त्र समाप्त गर्ने र विधिको शासन अन्त्य गर्ने ढंगबाट सरकार प्रस्तुत हुन्छ भने त्यसका विरुद्ध हामीले खबरदारी गर्नुपर्छ ।”

सरकारका कामकारबाहीका विषयमा कांग्रेसले सूक्ष्म अध्ययन गरी तथ्यसहित जनतामाझ ल्याउने पौडेलले बताए । उनले भ्रष्टाचारविरुद्धको अभियानमा नेपाली कांग्रेस सशक्त रूपमा अघि बढ्ने पनि बताए ।

सरकारले नागरिक र संसद्लाई नै उपेक्षा गरेको उनको भनाइ छ । “सरकारले संसद्लाई उपेक्षा गरेको छ । नागरिकलाई अपमान गरेको छ । संसदीय व्यवस्थामाथि प्रहार गर्ने काम गरेको छ,” पौडेलले भने, “ती कुराहरू हामीले निरन्तर रूपमा उठाउनेछौँ, खबरदारी गर्नेछौँ ।”