व्यावसायिक खेतीबाट आत्मनिर्भर बन्दै कञ्चनपुरका किसान


Capital Headline
प्रकाशित मिति : बुधबार, मंसिर १० २०८३
114
SHARES

९ मंसिर कञ्चनपुर । अन्नबालीखेतीको तुलनामा सागसब्जीबाट बढी आम्दानी हुन थालेपछि यहाँका किसान व्यावसायिक खेतीतर्फ आकर्षित भएका छन् । सागसब्जीखेती, बिरुवा उत्पादन र च्याउखेतीबाट प्रशस्त आम्दानी हुन थालेपछि उनीहरूले यसैलाई इलम बनाएका हुन् । भीमदत्त नगरपालिका–११ भुजेलाका वीरबहादुर खड्काले एक कट्ठा जग्गामा रु ५०० लगानी गरेर सागसब्जीखेती सुरु गरेका थिए । पहिलो उत्पादन बिक्रीबाट रु १० हजार आम्दानी भएपछि उनले खेती विस्तार गर्दै लैजाए । विसं २०७२ देखि व्यावसायिक रूपमा सागसब्जीखेती गर्दै आउनुभएका खड्काले अहिले तीन बिघा जग्गामा विभिन्न जातका सागसब्जी उत्पादन गर्दै आएका छन् ।

धान र गहुँखेतीको तुलनामा सागसब्जीखेतीबाट तीन गुणासम्म बढी आम्दानी हुन थालेपछि यसलाई व्यावसायिक रूपमा अघि बढाएको खड्का बताउँछन् । एक कट्ठाबाट सुरु गरेको खेती विस्तार गर्दै लगेका बेला कोरोना महामारीका कारण भारतमा रोजगारीका लागि गएका उहाँका दुई छोरा घर फर्किएपछि खेतीलाई थप विस्तार गरेको उनले बताए ।

सागसब्जीखेतीबाट हुने आम्दानीले घरखर्च र छोराछोरीको पढाइ खर्च धान्न सहज भएको उनको भनाइ छ । सागसब्जी बिक्रीबाट सबै खर्च कटाएर वार्षिक रु २५ लाखसम्म आम्दानी हुने गरेको उनले बताए । यही आम्दानीबाट रु २० लाख खर्च गरेर एक छोरालाई विदेश पठाएको, घर बनाएको र खेतीका लागि तीन वटा मोटरसाइकल तथा ५० प्रतिशत अनुदानमा अटो किनेको उनले जानकारी दिए ।

त्यसैगरी, भीमदत्त नगरपालिका–४ गोबरियाका दमन चन्दले रु ५० हजार लगानीमा सुरु गरेको बिरुवा उत्पादन व्यवसाय विस्तार गरी वार्षिक रु ६० लाखसम्मको कारोबार गर्ने अवस्थामा पुर्‍याएका छन् । एक दशकअघि सुरु गरेको व्यवसायबाट सबै खर्च कटाएर वार्षिक रु १५ लाखसम्म बचत हुने गरेको उनले बताए ।

पहिले कुटानीपिसानी मिल सञ्चालन गर्दै आएका चन्दले विद्युत् र कामदारको समस्या तथा ऋणको भार बढ्दै गएपछि नर्सरी व्यवसाय सुरु गरेका हुन् । अहिले उनले आफ्नै आधा बिघा र भाडामा लिएको डेढ बिघा जग्गामा फलफूल तथा घर सजावटका बिरुवा उत्पादन गर्दै आएका छन् । उनको नर्सरीमा ४५ प्रकारका बिरुवा उपलब्ध छन्। प्रतिगोटा रु २०० देखि रु १० हजारसम्मका बिरुवा बिक्री हुने गरेको उनले बताए ।

श्रीमान् गुमाएपछि घरखर्च चलाउन अरूसँग पैसा माग्नुपर्ने अवस्था आएपछि भीमदत्त नगरपालिका–६ वनगाउँकी पार्वती थापाले पनि आत्मनिर्भर बन्न कृषि व्यवसाय रोजिन् । सात वर्षअघि सामान्य जानकारीका आधारमा च्याउखेती सुरु गरेकी थापाले अहिले पाँच वटा फार्म सञ्चालन गरी वर्षभरि च्याउ उत्पादन गर्दै आएकी छन् ।

अरूसँग पैसा माग्नुभन्दा आफैँ काम गरेर आत्मनिर्भर बन्ने सोचले च्याउखेती सुरु गरेको उनले बताइन् । च्याउखेतीमा भएको लगानी कटाएर करिब ५० प्रतिशत नाफा हुने गरेको उनको भनाइ छ । च्याउ बिक्रीबाट घरखर्च र दुई छोराको पढाइ खर्च धानिएको उनले बताइन् । च्याउ बिक्रीबाट भएको नाफा पुन: खेतीमा लगानी गर्दै आउनुभएकी थापाले वार्षिक एक हजार ५०० केजी च्याउ बिक्रीबाट करिब रु दुई लाख आम्दानी गर्ने गरेको जानकारी दिइन् ।

कृषि उद्यम गर्न उमेरले छेक्दैन भन्ने उदाहरण भीमदत्त नगरपालिका–११ भुजेलाका ७५ वर्षीय अर्जुनबहादुर डाँगी हुन् । पूर्वप्रहरी डाँगीले २०५४ सालमा प्रहरी सहायक निरीक्षक पदबाट राजीनामा दिएर घर फर्किएपछि सागसब्जीखेती सुरु गरेका थिए ।

सुरुमा १०० ग्राम धनियाको बीउ लगाएका उनले पहिलो उत्पादन बिक्रीबाटै रु एक हजार २०० आम्दानी गरेका थिए । त्यसपछि धनियासँगै मौसमी तथा बेमौसमी सागसब्जीखेती विस्तार गर्दै जानुभयो। अहिले पाँच कट्ठा जग्गामा आलु, लसुन, काउली, बन्दा, रायो र धनियालगायत सागसब्जी उत्पादन गर्दै आएका डाँगीले खेतीबाट वार्षिक रु एक लाख ५० हजारसम्म आम्दानी हुने गरेको बताए ।